पाटन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताएका छन्।
ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापनमा उनले सांसदले आफ्नो क्षेत्र मात्रै होइन, समग्र मुलुकको विकासमा केन्द्रित हुनुपर्ने बताए।
लामिछानेले जनताले दिएको जिम्मेवारीलाई गम्भीर रूपमा लिएर जनहितमा काम गर्न निर्देशन दिए। संसद्मा पुगेपछि पारदर्शिता र जनतासँग सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ छ। उनले सांसदहरूलाई पाँच वर्षसम्म जनताले आत्मसात् गर्न सक्ने व्यवहार देखाउन आग्रह गरे।
रास्वपालाई कानुन निर्माणको जिम्मेवारी दिइएको भन्दै उनले सांसदहरूले त्यसअनुसार गम्भीर भूमिका निर्वाह गर्नुपर्ने बताए। पुराना दललाई जनताले लामो समय कुर्दा पनि अपेक्षा पूरा नभएको उल्लेख गर्दै उनले रास्वपालाई धेरै समय नदिने संकेत गरे।
पार्टी स्थापना भएदेखि विभिन्न चुनौती सामना गर्दै अघि बढेको उल्लेख गर्दै उनले यसलाई अझ मजबुत बनाउने जिम्मेवारी वर्तमान नेतृत्वमा रहेको बताए। उनले बिचौलियासँगको सम्बन्धबाट टाढा रहन र जनताको हितलाई प्राथमिकता दिन आग्रह गरे।
विशेष परिस्थितिमा आएको जनमत भएकाले जिम्मेवारीबोधसहित काम गर्नुपर्ने उनले बताए। साथै वैदेशिक सम्बन्धमा असर पर्ने अभिव्यक्ति नदिन, सादगी जीवनशैली अपनाउन र जनतासँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिए।
लामिछानेले ‘राइट टु रिकल’ कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै अनुशासनभित्र रहेर स्वतन्त्रताको प्रयोग गर्नुपर्ने बताए। सांसदहरूलाई अध्ययनशील हुन, संसद् बाहेकको समय जनतासँग बिताउन र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
देशको प्रमुख समस्या सामाजिक न्याय भएको उल्लेख गर्दै त्यसका लागि काम गर्नुपर्ने उनले बताए। संविधान र वर्तमान व्यवस्थाप्रति प्रतिबद्ध रहेको जनाउँदै उनले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सुशासनमा नयाँ मानक स्थापित हुने विश्वास व्यक्त गर्दै संविधान, संसद्को नियमावली र पार्टी विधानअनुसार इमानदार भएर काम गर्न आग्रह गरे। साथै नेपाललाई लगानीका लागि सुरक्षित देशका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने लक्ष्य रहेको बताए।





























प्रतिक्रिया