राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन् ।

विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले भनेका छन्, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो । मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशानिर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए, वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।”

भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको र यसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउन, नदीहरूको बहाव व्यवस्थापन गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी आपूर्ति गर्न मद्दत पुर्‍याउने उनले उल्लेख गरेका छन् । बढ्दो सहरीकरण, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन र प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गएको उनको भनाइ छ ।

सन्देशमा भनिएको छ, “भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । साथै अव्यवस्थित बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ।”

भविष्यमा आउन सक्ने जलसङ्कटलाई ध्यानमा राख्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्र संरक्षण, ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माणजस्ता परम्परागत विधिको प्रवर्द्धन गर्नुपर्ने उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाइँदै आएको छ । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् ।

Logo