मुख्यमन्त्री बानियाँ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा, झन्झटरहित सेवा प्रदान गर्न निर्देशन

मुख्यमन्त्री बानियाँ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा, झन्झटरहित सेवा प्रदान गर्न निर्देशन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंको उच्चस्तरीय अनुगमन गरेका छन् ।

सोमबार कार्यालय पुगेका मुख्यमन्त्री बानियाँले सेवा प्रवाहको अवस्था, नागरिकता शाखाको कार्यसम्पादन र सेवाग्राहीको सहज पहुँचबारे प्रत्यक्ष निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा उनले सेवाग्राही सहायता कक्ष, नागरिकता फाँट र प्रतीक्षालयको अवस्था नियाल्दै कर्मचारीहरूलाई छिटो, छरितो र झन्झटरहित सेवा प्रदान गर्न निर्देशन पनि दिए।

मुख्यमन्त्री बानियाँले कार्यालयमा लामबद्ध सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूले भोग्नुपरेका समस्याबारे जानकारी लिएका थिए । संवादका क्रममा कतिपय सेवाग्राहीले प्रक्रियागत ढिलासुस्ती र सूचनाको अभावबारे गुनासो गरेका थिए। मुख्यमन्त्री बानियाँले भने, “सरकारी कार्यालयमा आउँदा नागरिकले दुःख, सास्ती र अनावश्यक ढिलासुस्ती भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। सेवा प्रवाह पारदर्शी र सेवामैत्री बनाउनु नै हाम्रो प्राथमिकता हो ।”

मुख्यमन्त्रीले कार्यालयको सीसीटीभी निगरानी प्रणालीको समेत अवलोकन गरे । डिजिटल प्रणालीमार्फत सेवाग्राहीको भीड व्यवस्थापन, लाइन प्रणाली र कर्मचारीको उपस्थितिलाई कडाइका साथ अनुगमन गर्न उनले चासो देखाए । साथै, कार्यालय परिसरमा हुन सक्ने बिचौलियाको चलखेल रोक्न र कागजी झन्झट घटाउन समेत उनले सचेत गराएका छन् ।

Logo