एमाले हाँक्न किन योग्य छन् योगेश भट्टराई ? [भिडियो]

एमाले हाँक्न किन योग्य छन् योगेश भट्टराई ? [भिडियो]


काठमाडाैं । यतिबेला केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले गम्भीर आत्मसमिक्षाको चरणमा रहेको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्राप्त नतिजाले पार्टीभित्र गहिरो असन्तुष्टि, नेतृत्वप्रतिको प्रश्न र भावी दिशाबारे व्यापक बहस सिर्जना गरेको छ । संसदीय राजनीतिमा २०४८ सालपछि निरन्तर उकालो लागेको एमाले यतिवेला संसदिय नतिजामा सबैभन्दा कमजोर भएको छ ।

यस्तो अवस्थामा एमालेमा वैकल्पिक नेतृत्वको खोजी हुनु स्वभाविक हो र हुनु पनि पर्दछ । तीन महिना अगाडि पार्टीको महाधिवेशन मार्फत अध्याधिक वहुमतका साथ तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित ओलीमाथि यतिवेला नेतृत्व छाड्न दबाब बढिरहेको छ । यस विषयमा ओली आफैंले केही पनि बोलेका छैनन् तर उनी निकट केही नेता भने उनको बचावटमा उत्रिसकेका छन् । तर, आगामी दिनमा एमालेभित्र नेतृत्व परिवर्तनको एजेण्डा पेचिलो बन्दै जानेछ र पार्टीमा अझै पनि ओलीको नै पकड भएकाले यो विषय कसरी अगाडि जान्छ, त्यो यकिन छैन ।

यही सन्दर्भमा योगेश भट्टराईको नाम पार्टीभित्र मात्र होइन, राजनीतिक वृत्तमा पनि एक सम्भावित र सक्षम नेतृत्वका रूपमा उभिएको छ । उनले जेनजी आन्दोलनको भावना र मागलाई बुझेर त्यसबेला नै ओलीलाई नेतृत्व छाड्न दवाव दिएका थिए । तर, ओली त्यसका लागि तयार भएनन् ।

यति मात्र होइन, उनले प्रधानमन्त्रीको रुपमा ओलीले भदौ २३ को घट्नाको नैतिक जिम्मेवारी लिनुपर्ने पनि बताउँदै आएका छन् । त्यसैले पनि उनी नेतृत्वको आक्रमणको निशानामा परेका थिए । त्यही कारण उनले निर्वाचनमा टिकट पाएनन् र निर्वाचनको समयमा उनले कुनै पनि खालको भूमिका समेत पाएनन् । कारण थियो- पार्टीले गरेका गल्ती र कमजोरीको बारेमा आवाज उठाउनु ।

भट्टराईले एउटा अन्तवार्तामा भनेका छन्- ‘निर्वाचनको समयमा म दिनहुँ पार्टी कार्यालय जान्थे, क्यान्टिनमा चिया खाएर फर्कन्थे तर मलाई निर्वाचनको कुनै पनि जिम्मेवारी दिइएको थिएन ।’ तर, पनि उनी झापा ५ मा पार्टी अध्यक्ष ओलीको पक्षमा भोट माग्न पुगेका थिए । अरु समय आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुका सबै पालिकाहरुमा पुगे र गृहजिल्लामा एमाले उम्मेदवार क्षितिज थेवेलाई जिताउन प्रमुख भूमिका खेले । अन्य समय उनी काठमाडौं, नवलपुर, सुनसरी, मोरङलगायताका स्थानमा एमाले उम्मेदवारलाई जिताउने अभियानमा लागे, जसलाई धेरै मन पराएका थिए । आफूलाई टिकट नदिए पनि नेतृत्वलाई जिताउन उनी प्रचारमा हिँडेको विषयले पार्टीमा उनको निकै चर्चा भयो ।

त्यसैले पनि उनलाई अहिले धेरै पार्टीको भावी अध्यक्षको रुपमा समेत हेरेका छन् । भट्टराईले स्पष्ट रुपमा भनेका छन्– अब नेतृत्व त चयन हुनै पर्दछ । तर एमाले एमालेमा केपी शर्मा ओली नेतृत्वमा आए पछि योगेश र योगेश जस्तै फरक मत राख्नेहरुलाई पार्टी नेतृत्वमा आउन मात्र होइन, राम्रो जिम्मेवारी पाउन समेत मुस्किल परिरहेको समयमा अव पार्टीलाई रिफम गर्ने अभियानको नेतृत्व चलाउने ठिक समय आएको छ । करिव आठ लाख पार्टी सदस्य रहेको देशकै धेरै पार्टी सदस्य रहेको दावि गर्ने एमाले जनतमको हिसावले तेस्रो स्थानमा खुम्चिएको छ । एमालेलाई पुनः जनताको माझमा लैजान र पुरानो विरात जोगाउँदै परिवर्तित अवस्थामा रुपान्तरणसहितको पार्टी निर्माण गर्ने योगेशको नेतृत्व एमालेमा अपरिहार्य जस्तै देखिन थालेको छ ।

भट्टराई किन एमालेको भावी नेतृत्वका लागि उपयुक्त पात्र हुन सक्छन् भन्ने विषयलाई विभिन्न आधारमा विश्लेषण गर्न सकिन्छ ।

पहिलो, एमालेभित्र उनकाे विचारधारा मध्यमार्गी हो । वर्तमान राजनीतिक ध्रुवीकरणको अवस्थामा कट्टरपन्थी सोचले पार्टीलाई सीमित दायरामा बाँध्ने जोखिम हुन्छ । तर, योगेश भट्टराई सन्तुलित र व्यावहारिक सोच राख्ने नेताका रूपमा परिचित छन् । उनी मदन भण्डारीको विचारधाराले प्रभावित छन् । उनले पार्टीभित्र विभिन्न धारबीच समन्वय कायम गर्न सक्ने क्षमता राख्छन् । उनले २०४७ सालदेखि यता यसै भूमिका खेलिरहेका छन् । उनको उही भूमिकाको कारणले पनि हालैको महाधिवेशनमा उपमहासचिव पदमा निर्वार्चित भए । यसले आन्तरिक एकता मजबुत बनाउने मात्र होइन, बाह्य रूपमा पनि पार्टीलाई स्वीकार्य बनाउने सम्भावना बढाउँछ । धेरै पदाधिकारी ओलीको समूहबाट निर्वाचित भए तर उनी इतर समूहबाट पपुलर मतबाट निर्वाचित भए । महाधिवेशनमा उनले पाएको मतले पार्टीका सबै गुटले उनलाई स्वीकार गरेको स्पष्ट सन्देश दिन्छ ।

दोस्रो, नीतिगत स्पष्टता उनको महत्वपूर्ण विशेषता हो । नेपालको जटिल राजनीतिक संरचना, संघीयता, आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा स्पष्ट धारणा राख्ने नेता आजको आवश्यकता हो । योगेश भट्टराईले विभिन्न राष्ट्रिय मुद्दामा स्पष्ट र तर्कसंगत विचार प्रस्तुत गर्दै आएका छन् । यसले उनलाई केवल संगठनात्मक नेता मात्र नभई नीतिनिर्माता नेताका रूपमा पनि स्थापित गरेको छ । यति मात्र होइन, नेपालको विदेश नीति र जटिल भूराजनीतिक विषयमा उनको बुझाई स्पष्ट छ । त्यसैले अन्तरराष्ट्रिय समुदायले पनि उनले एक भरपर्दाे नेताको रुपमा लिन्छ ।

तेस्रो, उनी अनुभवी राजनीतिज्ञ हुन् । लामो समयदेखि विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका भट्टराईले संगठन र सरकार दुवै तहमा काम गरेका छन् । उनले मन्त्रीको रूपमा पनि कार्यसम्पादन गरिसकेका छन्, जसले प्रशासनिक अनुभव थप मजबुत बनाएको छ । दुई कार्यकाल संसदमा खेलेको भुमिका र मन्त्री भएर मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा उनले राम्रो रेडर्क बनाएका छन र प्रशासनिक संयन्त्रमा पनि उनले राम्रो प्रभाव पारेका छन् । यस्तो अनुभवले नेतृत्वमा परिपक्वता ल्याउँछ, जुन अहिले एमालेलाई अत्यन्त आवश्यक छ ।

चौथो, संगठन निर्माणमा उनको भूमिका उल्लेखनीय छ । उनले मदन भण्डारीदेखि अहिलेसम्मका सबै उच्च नेताहरुसँग काम गरेर संगठन सुधारको काम गरेका छन् । कुनै पनि राजनीतिक पार्टीको बलियो आधार संगठन हो। योगेश भट्टराईले पार्टी संगठन विस्तार, सुदृढीकरण र नयाँ पुस्तालाई समेट्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन्। विशेषगरी युवा वर्गसँग उनको पहुँच राम्रो छ, जसले भविष्यको राजनीतिक आधार तयार गर्न मद्दत पु¥याउँछ । पार्टी राजनीतिमा निरन्तर रहेका उनी पार्टीको फरक फरक मोर्चा सम्हालेका कारण सबै सेक्टरका कार्यकर्तासंग निरन्तर सम्पर्क र समन्वयमा रहेका छन् ।

पाँचौं, उनको वक्तृत्व कला अत्यन्त प्रभावशाली छ । राजनीतिमा विचार मात्र पर्याप्त हुँदैन, त्यसलाई जनतासामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ। संसददेखि सार्वजनिक मञ्चसम्म उनले आफ्ना विचार स्पष्ट, तार्किक र प्रभावकारी ढंगले प्रस्तुत गर्ने गर्ने गरेका छन्। यसले उनलाई जनतासँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्छ । संसदमा उनले गर्ने भाषण प्रायजसो सार्वजनिक वहश र चर्चाको विषय हुने गरेका छन् ।

छैटौं, उनी नयाँ र पुराना पुस्ताबीच पुल बन्न सक्ने क्षमता राख्छन् । अहिले एमालेभित्र पुस्तान्तरणको बहस तीव्र रूपमा चलिरहेको छ । पुरानो नेतृत्वप्रति असन्तुष्टि बढ्दै जाँदा नयाँ नेतृत्वको खोजी भइरहेको छ । तर, पूर्ण रूपमा नयाँ अनुहार मात्र पर्याप्त हुँदैन, अनुभव र ऊर्जा दुवैको सन्तुलन आवश्यक हुन्छ । योगेश भट्टराईले यही सन्तुलन कायम गर्न सक्छन् । भदौ २३ र २४ पछिको जेनजी आन्दोलनपछि उनले जेनजीको मागहरुको सम्बन्धमा एकदमै सकारात्मक धारण दिएका कारण धेरै जेनजी युवाले उनलाई मन पराए । त्यसैले उनी पुरानो पुस्ता र नयाँ दुवैलाई मिलाएर लानसक्छन ।

सातौं, उनले आत्मसमिक्षा गर्ने साहस देखाएका छन् । पछिल्लो निर्वाचनपछि उनले खुलेर पार्टीको नीति र नेतृत्वप्रति प्रश्न उठाएका छन्। एमालेभित्र विरलै थोरै नेताले मात्र यसो गर्नसक्छन् । यो कुरा राजनीतिमा दुर्लभ गुण हो, किनकि धेरै नेता आलोचनाबाट टाढा रहन खोज्छन् । तर, आत्मालोचना गर्ने क्षमता नै सुधारको पहिलो कदम हो । यसले उनलाई जिम्मेवार र दूरदर्शी नेताका रूपमा प्रस्तुत गर्छ । विगत १० वर्षमा ओलीको डर र त्रासका कारण समग्र एमालेमा आलोचनात्मक चेत नै कमजोर भएर गएको छ तर उनले भने नेतृत्वको राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नसक्ने आँटलाई कहिले पछि छोडेनन् ।

आठौं, जनभावनालाई बुझ्ने क्षमता उनको अर्को महत्वपूर्ण पक्ष हो । राजनीतिमा सफलता पाउन जनताको मनोविज्ञान बुझ्न आवश्यक हुन्छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले जनतामा नयाँ विकल्पको खोजी रहेको विषयलाई उनले राम्रोसँग बुझेका थिए । यस्तो अवस्थामा योगेश भट्टराईजस्ता नेताले जनताको अपेक्षा र असन्तुष्टिलाई सही रूपमा बुझेर पार्टीलाई नयाँ दिशातर्फ लैजान सक्छन् । २०४७ सालदेखि नै उनले समाजमा आएका परिवर्तनलाई उनले राम्रोसँग आत्मसात गरेका छन्, बुझेका छन् ।

नवौं, भट्टराईको अन्तर्राष्ट्रिय सम्बन्ध वृहत छ । भारत र चीन लगायतका देशका राजनीतिक दलका नेताहरुसँग उनको राम्रो सम्बन्ध । भूराजनीति र परराष्ट्र नीतिको बारेमा भटराईको बुझाई र पढाई एकदमै गहन छ । यति मात्र होइन, उनले भारत, चीन अमेरिका लगायतका मुलुकहरुसँगका नेपालको सम्बन्धलाई नजिकबाट हेरेका छन् । विगत लामो समयदेखि बिभिन्न देशको भ्रमण गरेर उनले राम्रो अनुभव संगालेका छन् ।

दशौं, उनको छवि अपेक्षाकृत सफा र सकारात्मक छ। आजको राजनीतिमा विश्वसनीयता ठूलो पूँजी हो। भ्रष्टाचार, विवाद र शक्ति दुरुपयोगका आरोपबाट टाढा रहन सकेका नेताहरू जनतामाझ छिटो स्वीकार्य हुन्छन् । पटक-पटक मन्त्री हुँदा पनि उनी कुनै पनि भ्रष्टाचार मुद्धामा मुछिएका छैनन् ।

अन्ततः भट्टराई एमालेको नेतृत्वका लागि उपयुक्त पात्र बन्न सक्ने आधारहरू प्रशस्त छन् । तर केवल व्यक्तिगत योग्यता पर्याप्त हुँदैन, पार्टीभित्रको सहमति, संरचनात्मक परिवर्तन र सामूहिक इच्छाशक्ति पनि आवश्यक हुन्छ । यदि एमालेले समयमै सही निर्णय लिन सक्यो भने, योगेशजस्ता नेताको नेतृत्वमा पार्टी पुनः सशक्त बन्ने सम्भावना प्रबल देखिन्छ । यी विषयलाई एमालेका तमाम नेता र कार्यकर्ताले बुझ्न आवश्यक छ ।

Logo