जेनजी आन्दोलनमा नेताका घरमा जलेका नोटदेखि ४६ सालयताको सम्पत्ति छानबिन गर्न सभापति गगन थापाको माग

जेनजी आन्दोलनमा नेताका घरमा जलेका नोटदेखि ४६ सालयताको सम्पत्ति छानबिन गर्न सभापति गगन थापाको माग

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस नेताहरूको घरमा भेटिएका र जलेका पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

सभापति थापाले उक्त घटनालाई लिएर मात्र नभई २०४६ सालपछि सार्वजनिक पदमा रहेका सबै नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने अडान राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले “जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्ने र अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्र हुनुहुन्न भन्दै निष्कर्ष नै निकालिनुपर्ने कुरामा जोड दिएका छन् ।

जेनजी आन्दोलका क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गर्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । त्यसैगरी कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको र त्यहाँ पनि पैसा जलेको भिडियो बाहिर आएको थियो । थापाले यी दुवै घटनाको निष्पक्ष छानबिन माग गरेका हुन् । थापाले अझ अगाडि बढेर “२०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने र उक्त कार्यमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताएका छन् ।

सभापति थापाको यो अभिव्यक्ति अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन हुनुपर्ने भन्दै आएको सन्दर्भमा अझ अर्थपूर्ण बनेको छ । केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाको यो तीखो र स्पष्ट धारणाले कांग्रेसभित्रै छानबिन र जवाफदेहिताको बहसलाई नयाँ मोड दिएको छ । अब सरकारले यो मागलाई कसरी सम्बोधन गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

Skip This
Skip This
Logo