‘भदौ २४ गते म कारागारबाट निस्कन चाहन्नथेँ, प्रशासनले नै भीडको जिम्मा लगायो’ -रवि लामिछाने

‘भदौ २४ गते म कारागारबाट निस्कन चाहन्नथेँ, प्रशासनले नै भीडको जिम्मा लगायो’ -रवि लामिछाने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत भदौ २४ गते आफू अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन तयार नरहे पनि कारागार प्रशासनकै आग्रह र भीडको दबाबका कारण बाहिर पुगेको दाबी गरेका छन्।

भदौ २३ गतेसम्म कारागारको अवस्था सामान्य रहे पनि २४ गते दिउँसो १२:३० बजे कारागारका नाइके र सुरक्षा प्रतिनिधिले बाहिर असामान्य स्थिति रहेको जानकारी दिएको लामिछानेले जाँचबुझ आयाेगलाई दिएकाे बयानमा उल्लेख छ। “जेल प्रशासनले भीडलाई सम्झाउन म नै बाहिर जानुपर्ने पटक-पटक आग्रह गर्‍यो,” लामिछानेले भनेका छन्, “म बाहिर निस्कन नचाहँदा-नचाहँदै मलाई भीडको जिम्मा लगाइयो र जबरजस्ती बाहिर पठाइयो।”

कारागार प्रशासनले थुनामुक्त गर्ने पत्र तयार पारेको भए पनि त्यसमा आफ्नो कुनै संलग्नता वा हस्ताक्षर नरहेको उनले स्पष्ट पारेका छन्। सो पत्रको वैधानिकताका सम्बन्धमा जेल प्रशासन नै जवाफदेही हुनुपर्ने उनको जिकिर छ।

कारागारबाट निस्किएपछि आफूले रेस्टुरेन्टको बार्दलीबाट प्रदर्शनकारीहरूलाई सम्बोधन गरेको उनले बताएका छन्। सम्बोधनका क्रममा उनले समर्थकहरूलाई शान्तिपूर्ण रहन, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गरेको बयानमा उल्लेख छ। उनले भदौ २४ को घटनामा आफ्नो र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको हिंसात्मक संलग्नता नरहेको समेत प्रष्ट पारेका छन्।

कारागारबाट बाहिरिएपछि कलाकार रामकृष्ण ढकालको गाडीमार्फत सुरक्षित स्थानमा पुगेको र सुरक्षा निकायका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएको उनले खुलाएका छन्। लामिछानेले सोही दिन भिडियो सन्देशमार्फत आफू सुरक्षित रहेको र अदालतमा उपस्थित हुने जानकारी दिएका थिए।

“सुरक्षाको प्रत्याभूति पाएपछि म भदौ २८ गते पुनः नख्खु कारागार फर्किएँ,” उनले भनेका छन्। यस घटनाबाट पाठ सिक्दै उनले आगामी दिनमा ‘खुला कारागार’ नीति अवलम्बन गर्न, कैदीबन्दीको मानसिक स्वास्थ्यमा ध्यान दिन र कानुनी परामर्श प्रणालीलाई सुदृढ बनाउन सरकारलाई सुझाव समेत दिएका छन्।

Logo