तुलसीपुर (दाङ) । नेकपा (एमाले) की केन्द्रीय सदस्य, पूर्वराष्ट्रिय सभा सदस्य एवं लोकप्रिय गायिका कोमल वलीलाई पितृशोक परेको छ। उनका बुवा ललितबहादुर वलीको शुक्रबार आफ्नै निवासमा दुर्घटनामा परी असामयिक निधन भएको हो।
घाम ताप्नका लागि घरको छतमा जाने क्रममा लडेर गम्भीर घाइते भएका वलीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शारीरिक रूपमा कुनै ठुलो रोग नभए तापनि उमेरका कारण उनी केही कमजोर थिए । हाल उनको पार्थिव शरीरलाई अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि तुलसीपुर (बाहिनी गेट नजिकै) रहेको निजी निवास ‘दिपा–ललित निवास’ मा राखिएको छ।
स्वर्गीय वली दाङको सामाजिक र साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनी जेष्ठ नागरिक जिल्ला संघ दाङका सदस्य तथा दीपाललित प्रतिष्ठानका संरक्षक थिए । सामाजिक सेवामा समर्पित वली पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सल्लाहकार समेत थिए । ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित उनको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ समेत स्थापना गरेको छ।
साहित्यमा समेत रुचि राख्ने वलीको ‘दर्पण’ नामक राष्ट्रिय गीत संग्रह र ‘मातृभूमि’ नामक कविता संग्रह प्रकाशनको तयारीमा रहेका थिए। उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी भैलो, तीज र भजनहरू समावेश छन् । गायिका कोमल वलीका धेरै गीतहरूमा उनले मोडलिङ समेत गरेका छन् । उनी आफैँ पनि कुशल गायक थिए ।
वैचारिक रूपमा उनी राजसंस्थाप्रति आस्था राख्थे र यसको पुनर्स्थापनाको पक्षमा वकालत गर्दै आएका थिए ।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कलाकार र सामाजिक अभियन्ताहरूले दुख व्यक्त गर्दै शोकसन्तप्त कोमल ओली र उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।





























प्रतिक्रिया