काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खेलकुद र खेलाडी राष्ट्रको गहना मात्र नभई देशको शान र पहिचान भएको बताएका छन् ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सो कुरा बताएका हुन् । पुनः सर्वसम्मत अध्यक्ष निर्वाचित केशव पुरी लगायतको नयाँ कार्यसमितिलाई बधाई दिँदै मुख्यमन्त्री बानियाँले तेक्वान्दोको विकासका लागि प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे । “हिजो खेल र खेलाडीलाई गहना मात्र भनिन्थ्यो, तर अब खेल सान र पहिचान देखाउने माध्यम बनेको छ,” उनले भने ।
सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले तेक्वान्दो खेलको पूर्वाधार र आवश्यक सामग्री (इक्विपमेन्ट) खरिदका लागि बजेट वृद्धि गर्ने महत्वपूर्ण घोषणा गरे । यसअघि विनियोजित २० लाख रुपैयाँलाई बढाएर यसै वर्ष ६० लाख रुपैयाँ पुर्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो। आगामी दिनमा संघले गर्ने थप गतिविधि र योजनाका आधारमा बजेट बढाउँदै लैजाने उनको भनाइ थियो।
बागमती प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै नयाँ वर्षको सुरुवातसँगै ‘बागमती प्रदेश खेल महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए । हेटौंडा, ललितपुर र काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुने गरी बजेट स्वीकृत भई काम अगाडि बढिसकेको उनले बताए । प्रदेश स्तरीय खेलकुद पश्चात सातवटै प्रदेशका खेलाडी समेटेर ‘अन्तरप्रदेश स्तरीय खेल महोत्सव’ समेत आयोजना गरिने उनको योजना छ।
मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा डायलासिस र मिर्गौला प्रत्यारोपण जस्ता जटिल सेवा निःशुल्क गर्ने गरी सरकार अघि बढेको बताए ।
उनले भने, “हामीले खेलकुद पर्यटनलाई पनि सँगसँगै लैजाने लक्ष्य राखेका छौं। संघीय सरकारले पनि युवाहरूको चाहना अनुसार खेल, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्नुपर्छ।”





























प्रतिक्रिया