नेकपा विवादः वरिष्ठ नेता नेपाललाई बालुवाटारमै बोलाएर के भने प्रधानमन्त्री ओलीले ?

नेकपा विवादः वरिष्ठ नेता नेपाललाई बालुवाटारमै बोलाएर के भने प्रधानमन्त्री ओलीले ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर करिब २ घण्टाभन्दा बढी भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा स्थायी कमिटी सदस्य डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त समेत सहभागी भएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई (वान टु वान) वार्ताका लागि बोलाएका भएपनि वरिष्ठ नेता नेपालले पार्टीभित्र विवाद देखिएकाले एक्ला एक्लै वार्ता गर्दा शंकाको घेरामा परिने भन्दै स्थायी कमिटी सदस्य डा. रावल, पाण्डे र पन्तलाई सँगै राखेका थिए ।

गत साउन ९ गतेको भेटवार्तापछि छलफल नगरेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बीच कात्तिक ४, ९ र ११ गते भने पटक पटक सम्वाद भएको देखिन्छ । आइतबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी एकतालाई जोगाउनु पर्ने भन्दै नेपाल पक्षसँग सहयोग मागेको वरिष्ठ नेता नेपाल पक्षको दाबी छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई संवादका लागि बालुवाटार बोलाएका हुन् ।

नेकपा विवादमा शनिबार प्रकरण
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेका थिए । शनिबारको उक्त भेटमा उनीहरूले तत्कालै सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । उक्त पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल गर्नु पर्ने उल्लेख गरिएको थियो । लिखित पत्र बुझ्दै प्रधानमन्त्री ओलीले छलफलपछि निर्णय गर्ने बताएका थिए । शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि समेत प्रश्न उठाएका थिए ।

लिखित पत्र बुझाउन कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए । ओलीले अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाउने परम्परा रहेको भन्दै कुनै दिन बैठक बोलाउने प्रतिबद्धता जनाएका थिए । तर लिखित पत्र बुझेको यतिका दिन बितिसक्दा समेत सचिवालय बैठक बस्ने मिति भने तय हुन सकेको छैन ।

आइतबारको भेटमा के भन्यो नेपाल पक्षले ?
आइतबारको भेटमा वरिष्ठ नेता नेपालले सामूहिक प्रयासबाट मात्रै समस्याको समाधान निकाल्न सकिने धारणा राखेको स्रोतले केन्द्रबिन्दुलाई बतायो । विवाद समाधान गर्नेे भन्दै दुई पक्षले चोचोमोचो मिलाउने र तेस्रो पक्षलाई भित्तामा पुर्याउने गतिविधि नगर्न ओलीलाई वरिष्ठ नेता नेपालले सुझाव समेत दिएका थिए ।

प्रधानमन्त्री ओली व्यक्तिका टिप्पणीमा मात्र केन्द्रीत हुने, आफ्नो कार्यशैली परिवर्तन गर्न आवश्यक नठान्ने र मदन भण्डारी फाउण्डेसन स्थानीय तहसम्म आक्रमक ढंगले फैलाएको आरोप लगाएका थिए । साथै मदन भण्डारी फाउण्डेसनको काम तत्काल रोक्नुपर्ने माग समेत वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीसँग गरेका थिए । वरिष्ठ नेता नेपालको कुरा सुनिसकेपछि ओलीले फाउण्डेसनको गतिविधि रोक्नै नमिल्ने जवाफ दिएको उनी निकट स्रोतको दाबी छ ।

वरिष्ठ नेता नेपालले मागे पार्टी एकता जोगाउने ठोस प्रस्ताव
नेकपाका वरिष्ठ नेता नेपालले पार्टी एकतालाई जोगाउन प्रधानमन्त्री ओलीसँग ठोस प्रस्ताव मागेका छन् । आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले पार्टी एकता संकटमा रहेको भन्दै एकता जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेका थिए । नेता नेपालले अहिलेको संकट हल गर्ने विधि र प्रस्ताव के हो ? भनेर प्रधानमन्त्री ओलीसँग प्रस्ताव माग गरे पनि उनले स्पष्ट जवाफ दिन नसकेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्य बताउँछन् ।

नेकपाभित्र देखिएको जबज विवाद
वरिष्ठ नेता नेपालले जनताको बहुदलीय जनवाद (जबज) लगायतका गतिविधि सञ्चालन गरिरहेको मदन भण्डारी फाउण्डेशनका क्रियाकलाप रोक्न आग्रह गर्दा ओलीले आफूले त्यस्तो क्रियाकलाप रोक्न नसक्ने जवाफ दिएको स्रोतले बतायो । उक्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा भनेका थिए–‘मदन भण्डारी फाउण्डेसनको काम अगाडि बढेको छ । बढ्छ, बढाउनु पर्छ । यो रोक्नु हुन्न ।’

किड्नी फेरेपछि झन बलियो भए प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले पार्टीसँग सम्बन्धित विषयमा छलफल हुँदै गर्दा प्रसंग मोडेर दोस्रो पटक किड्नी फेरेपछि आफू झन् बलियो भएको बताएका थिए । ओलीको स्वास्थ्य अवस्थाबारे प्रसंग ननिस्के पनि उनी आफैंले आफ्नो स्वास्थ्यबारे कुरा राखेको बैठकमा सहमागी एक नेताको भनाइ छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको प्रसंग जोडेर आफू अझै सक्रिय रहने भन्दै घुमाउरो रूपमा आफूलाई कमजोर नठान्न आग्रह गरेका थिए ।

Logo