काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका सचिव महेश बस्नेतले ‘पूर्वाग्रह र प्रतिशोधको पराकाष्ठा’ भन्दै सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको कडा आलोचना गरेका हुन् । उनले लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गरियोस्।”
सचिव बस्नेतले वर्तमान सरकारको आयुमाथि प्रश्न उठाउँदै शपथ लिएकै दिनदेखि सरकारको ‘दिनगन्ती’ सुरु भइसकेको दाबी गरेका छन् । उनले सरकारले देशलाई गृहयुद्धतर्फ धकेल्न खोजेको आरोप लगाउँदै नेपाललाई ‘पाकिस्तानी, बंगलादेशी वा युक्रेन’ को मोडलतर्फ लैजान खोजिएको भन्दै चिन्ता व्यक्त गरे ।
बस्नेतले विगतमा सरकारी सम्पत्ति तोडफोड गर्ने समूहहरूलाई संरक्षण गरेको र अहिलेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरिएको भन्दै सरकारको दोहोरो मापदण्डको विरोध गरेका छन् । “हिजो सिंहदरबार र सर्वोच्च अदालतमा तोडफोड गर्नेहरूलाई अहिलेको शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने अधिकार छैन,” उनले भनेका छन् ।
एमालेले अध्यक्ष ओलीको रिहाइको माग गर्दै भोलि चैत १६ गते दिउँसो १२ बजे देशभरका जिल्ला सदरमुकामहरूमा सशक्त र प्रतिरोधात्मक आन्दोलन गर्ने घोषणा गरेको छ। साथै, आज भएको प्रहरी दमनको विरोधमा भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको प्रदर्शन जारी रहने सचिव बस्नेतले जानकारी दिए ।





























प्रतिक्रिया