काठमाडौं । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् आज पहिलोपटक बस्न लागेको प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ ।
संघीय संसद् सचिवालयका अनुसार दलीय आधारमा गरिएको समय निर्धारण अनुसार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २५ मिनेटको समय निर्धारण गरिएको छ । रास्वपाबाट सभापति रवि लामिछाने बोल्ने तय भएको छ।
यता दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई १०, नेकपा (एमाले)लाई आठ मिनेट समय निर्धारण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सात, सात मिनेट समय उपलब्ध गराइने तय छ । स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बे, एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने तय छ ।
यस्तै, नेकपाका तर्फबाट सांसद वर्षमान पुन, श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ ।
साथै स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकमा सम्बोधन गर्नेछन् ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्ने तय छ ।





























प्रतिक्रिया