काठमाडाैं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सत्ता सम्हालेको एक हप्ता पुगेको छ । यस छोटो अवधिमै उनको कार्यशैली नेपालका परम्परागत प्रधानमन्त्रीहरूको शैलीसँग स्पष्ट रूपमा भिन्न देखिन थालेको छ । प्रधानमन्त्रीको रूपमा उनका शुरुवाती दिनहरू केवल प्रशासनिक गतिविधिमा मात्र सीमित छैनन्, धेरै क्षेत्रमा उनले परिवर्तन ल्याउने छनक दिएका छन् । एक प्रकारले भन्ने हो भने विगतमा प्रचण्डले भन्ने गरेको क्रमभंगता वास्तवमा बालेनले गरिरहेका छन् । यसले अहिलेसम्मको राजनीतिक संस्कार, र शक्ति प्रयोगको शैलीमै परिवर्तन ल्याउने संकेत देखिएको छ ।
बालेनले यस अगाडिका प्रधानमन्त्रीभन्दा पृथक शैलीमा कसरी काम गरिरहेका छन् भन्ने विषय बुँदागत रुपमा-
⦿ बोल्दै बोलेनन्
प्रधानमन्त्री बालेनमा सबैभन्दा पहिला देखिएको विशेषता हो- उनको सञ्चार शैली । परम्परागत रूपमा, नेपालका प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेलगत्तै पत्रकार सम्मेलन, सार्वजनिक सम्बोधन, वा मिडिया अन्तर्वार्ता दिने चलन रहँदै आएको थियो । तर, बालेनले यो अभ्यासलाई पूर्ण रूपमा तोडेका छन् । यसबाट उनले “काम गर, प्रचार नगर” भन्ने सन्देश दिन खोजेको देखिन्छ । उनले राजनीतिक भाषणभन्दा परिणाममुखी शासनमा ध्यान केन्द्रित गर्न खोजेको देखिन्छ । यो शुरुमा नै अपेक्षा बढाएर पछि आलोचना खेप्नुपर्ने जोखिमबाट बच्ने प्रयास पनि हुनसक्छ । यस अगाडिका प्रधानमन्त्रीले भाषणमार्फत धेरै आश्वासन दिलाउने तर काम नगर्ने शैलीबाट उनले पाठ सिकेको देखिन्छ । उनले आफ्नो सामाजिक संजालमा समेत केही पनि लेखेका छैनन् । अर्थात् उनले बोली होइन, आफ्नो काम नै बोलोस् भन्ने चाहेका छन् ।
⦿ बधाई र शुभकामना बन्द
नेपालको राजनीतिक संस्कृतिमा बधाई भेटघाट एउटा स्थापित अभ्यासजस्तै बनिसकेको थियो । प्रधानमन्त्री र मन्त्रीलाई बधाई दिनका लागि सिंहदरवारमा ठूलो लाइन नै लाग्ने गर्दथ्यो । तर, बालेनले यसलाई पूर्ण रुपमा रोक लगाएका छन् । यसमार्फत उनले समयको उच्च सदुपयोग गर्ने संकेत दिएका छन् । साथै, बालेन र उनको समूहले पहुँचलाई निरुत्साहित गर्न खोजेको सन्देश आफूमार्फत दिन चाहेको देखिन्छ । यसले मन्त्रीहरूलाई पनि स्पष्ट सन्देश दिएको छ- काम प्राथमिकता हो, सम्बन्ध होइन । यसबाट प्रष्ट हुन्छ, नेपालको ठूलो समस्याको रुपमा रहेको विचौलियाको संस्कृतिलाई समेत बालेन सरकारले अन्त्य गर्न खोजेको देखिन्छ ।
⦿ राजदूतावासहरूसँग दूरी
नेपालमा नयाँ सरकार बनेपछि विदेशी दूतावासहरूको सक्रियता बढ्ने चलन पुरानो हो । तर, बालेनले यो अभ्यासलाई सीमित गरेका छन। प्रधानमन्त्रीले सपथ खाए लगत्तै उनीहरुको निजि निवासमा नै गएर बधाई दिन प्रमुख देशका राजदुतहरुको बिचमा प्रतिस्पर्धा नै चल्ने गरेको थियो । तर, एक हप्तासम्म बालेनसँग कुनैपनि देशका राजदूतले भेटघाट गरेका छैनन् । बालेनले आफ्नो सपथ ग्रहण समारोहमा विभिन्न देशका राजदूतहरुमार्फत बधाई लिए तर त्यसपछि भेट भएको छैन । यसमार्फत बालेनले नेपालको निर्णय प्रक्रियामा विदेशीको प्रभावलाई कम गर्न खोजेको देखिन्छ जसले कुनै पनि विषयमा कुनै दवाव बिना निर्णय लिन सहज हुने बालेनको बुझाई देखिन्छ । यद्यपी यो शैलीले कूटनीतिक निर्णय प्रक्रियामा समस्या ल्याउनसक्छ ।
⦿ ब्रिफिङ होइन, निर्देशन
बालेनको सबैभन्दा स्पष्ट र प्रभावकारी कदम प्रशासनिक क्षेत्रमा देखिएको छ । उनले मन्त्रालय संख्या २५ बाट घटाएर १७ मा घटाएका छन् । मन्त्रीहरुलाई भाषणहरु भन्दा पनि काममा फोकस हुन निर्देशन दिएका छन् । उनले सचिवहरूलाई स्पष्ट निर्देशन दिदै काम गर, नत्र छोड भन्ने सन्देश दिएका छन् । उनले १०० बुँदे सुशासन कार्यक्रम अघि सार्दै सुशासनका लागि कर्मचारीहरुको प्रभावकारी पर्फमेन्सको अपेक्षा राखेको देखिन्छ । यसले के देखाउँछ भने उनले प्रभावकारी शासन ल्याउन खोजेका छन्, जिम्मेवारी र उत्तरदायित्वमा जोड दिएका छन् । यस अगाडिका प्रधानमन्त्रीले पहिला सचिवहरु मार्फत ब्रिफिङ लिने र त्यसको आधारमा निर्देशन दिने गर्दथे । तर, बालेनले भने सिधै निर्देशन दिने शैली लिएका छन् । यसमार्फत उनले कर्मचारीतन्त्रमा हावी हुने रणनीति लिएको देखिन्छ । उनले पहिलेका प्रधानमन्त्री भन्दा फरक आफूलाई सबै विषय थाहा भएको र कर्मचारीले काम गर्नुपर्ने सन्देश दिएका छन् ।
⦿ आन्दोलन प्रतिवेदन कार्यान्वयन
२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनपछि नेपालमा थुप्रै आन्दोलन भए । ति आन्दोलनमा मानव अधिकारको गम्भीर उल्लंघन पनि भए । दोषीलाई कार्वाहीको सिफारिस गर्न भन्दै बिभिन्न आयोगहरु समेत बने । तर, ति आयोगका प्रतिवेदन कहिले पनि कार्यान्वयनमा आएनन् । यसअघिका जनआन्दोलनका प्रतिवेदनले दोषी देखाएका पात्रहरुलाई कुनै पनि प्रधानमन्त्रीले कारवाही गर्ने आँट जुटाउन सकेका थिएनन् तर बालेनले भने जेनजी आन्दोलनको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने जोखिम मोले र प्रशंसा पनि कमाए । प्रतिवेदनले दोषी देखाएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले तत्कालै पक्राउ गरेको छ । साथै बालेन सरकारले भ्रष्टाचारविरुद्ध कठोर र दीर्घकालिन कदम समेत उठाउने संकेत दिइसकेको छ ।
⦿ योग्य व्यक्तिलाई मन्त्रिपरिषद्ः मेरिटोक्रेसीको अभ्यास
बालेनको अर्को ठूलो परिवर्तन मन्त्रिपरिषद् गठनमा देखिएको छ । परम्परागत अभ्यासको कुरा गर्ने हो भने मन्त्रिपरिषद् गठनमा पार्टी सन्तुलन, गुट व्यवस्थापन, राजनीतिक दवाव मन्त्री छनौटका निर्णायक पक्ष बन्थे । यही कारणले महिनौसम्म पनि मन्त्रीपरिषदले पूर्णत पाउने गर्दैनथ्यो । तर, उनले आवश्यक मन्त्रालय छनौट गरि सबै मन्त्री एकैदिन चयन गरेका छन् । यति मात्र होइन, उनले योग्यता र विशेषज्ञताको आधारमा मन्त्रीहरुको छनौट गरेका छन् । उनले नियुक्त गरेका प्राय सबै मन्त्रीहरुमा आफ्नो क्षेत्रमा काम गरेको कुनै न कुनै अनुभव रहेको छ । यसले नीतिगत निर्णयमा गुणस्तर सुधार ल्याउन सक्छ र दीर्घकालिन योजना निर्माणमा सहयोग गर्छ ।
निष्कर्षमा, बालेनको कार्यशैली तीन मुख्य तत्वमा आधारित देखिन्छ । पहिलो मौन रहने तर महत्वपूर्ण कदमहरु चाल्ने, दोस्रो प्रशासनिक क्षेत्रमा कडाई र तत्काल सुधार गर्ने । तर, उनको शैलीले कति प्रभावकारी रुपमा काम गर्न सक्छ, त्यो भने हेर्न बाँकी नै छ । विशेषतः कर्मचारीतन्त्रले उनको गतिलाई कत्तिको सहयोग गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।































प्रतिक्रिया