काठमाडौं । भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यावसायिक जहाजमा आक्रमण हुँदा चार भारतीयको मृत्यु भएको जानकारी दिएको छ।
विज्ञप्तिमा जुलाई १९ मा युक्रेनी बन्दरगाह ओडेसाबाट प्रस्थान गर्ने क्रममा जहाजमा आक्रमण भएको उल्लेख छ। अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ र आक्रमणको कडा निन्दा गरेको छ।
तर विज्ञप्तिमा आक्रमण कसले गरेको हो भनेर उल्लेख गरिएको छैन। भारतको विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा १७ जना चालक दलका सदस्य थिए, जसमा ५ जना भारतीय नागरिक पनि थिए।
भारतले घटनाको निन्दा गर्दै व्यावसायिक जहाजहरूलाई निसाना बनाउनु र निर्दोष नागरिक चालक दलका सदस्यहरूको जीवनलाई जोखिममा पार्नु अत्यन्तै निन्दनीय भएको बताएको छ।
भारतीय विदेश मन्त्रालयले युक्रेनमा रहेको भारतीय मिसनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र पीडितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्ने प्रयास गरिरहेको बताएको छ।































