जमिन बाँझो नराख्न किसानहरुलाई लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

जमिन बाँझो नराख्न किसानहरुलाई लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई जमिन बाँझो नराखी उत्पादनतर्फ लाग्न आग्रह गरेका छन्। दाङको देउखुरी क्षेत्रमा प्रगन्ना नहर सरसफाइ कार्यक्रम उद्घाटन गर्दै उनले खेतीयोग्य जमिन प्रयोग नभएको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

देउखुरीलाई अन्न उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै उनले पछिल्लो समय उत्पादन घट्नु र जमिन खाली रहनु चुनौती बनेको बताए। उनले विशेषगरी तरकारी खेतीमा ध्यान दिन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी उत्पादनको निर्भरता घटाउनुपर्ने धारणा राखे।

सरकारले सिँचाइ सुविधा विस्तार गरे पनि त्यसअनुसार उत्पादन बढ्न नसकेको उल्लेख गर्दै उनले किसानलाई उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न आग्रह गरे। कृषिमा सक्रियता बढाउन नीतिगत सुधार र समस्या समाधानका लागि योजना बनिरहेको पनि जानकारी दिइयो।

कार्यक्रममा सिँचाइको महत्वबारे जोड दिँदै मन्त्री सीता शर्मा चौधरीले उत्पादन र उत्पादकत्व बढाउन सिँचाइ नै मुख्य आधार भएको बताइन्। साथै, सिँचाइ क्षेत्र विस्तार भइरहेको र आगामी दिनमा थप सुधार गरिने जानकारी दिइयो।

यसैबीच, राप्ती नदीमा अनियन्त्रित उत्खननका कारण सिँचाइ प्रणाली प्रभावित भइरहेको विषय पनि उठाइएको छ। हाल प्रगन्ना सिँचाइ प्रणालीबाट करिब ५८०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ।

Skip This
Skip This
Logo