काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा रिहा गर्ने तयारी अघि बढेको छ। सर्वोच्च अदालतको आदेशपछि सरकारले उनीहरूलाई आजै रिहा गर्न सक्ने सम्भावना देखिएको छ।
उच्च स्रोतका अनुसार अदालतको निर्णयपछि म्याद थप गर्ने प्रक्रिया अघि नबढे पनि उनीहरूमाथिको अनुसन्धान भने अझै पूरा भएको छैन। सर्वोच्च अदालतले सोमबार दुवै नेतामाथि सशर्त थुनामुक्त गर्ने आदेश दिएको थियो। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले जारी गरेको आदेशअनुसार तोकिएको समयभित्र मुद्दा अभियोजन नभए उनीहरूलाई रिहा गर्नुपर्ने उल्लेख छ।
तर प्रहरी उच्च स्रोतले अनुसन्धान अझै जारी रहेको दाबी गरेको छ। “अनुसन्धान सकिएको छैन, तर अदालतको आदेशअनुसार अब हाजिरी जमानीमा छाड्ने प्रक्रिया अघि बढाइँदैछ,” स्रोतले जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार अनुसन्धान अधिकारीले आवश्यक नदेखिएमा सरकारी वकिलको सहमतिमा वा कारणसहितको पर्चा खडा गरी धरौट, जमानत वा हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्था छ।
सोही कानुनी व्यवस्थाअनुसार दुवै नेतालाई जिम्मा लिएर उपस्थित हुने सर्तमा रिहा गर्ने तयारी गरिएको बताइएको छ। दुवै नेता भदौ १४ गते पक्राउ परेका हुन्। भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा भएको जनधन क्षतिबारे उनीहरूमाथि राजनीतिक तथा कानुनी जिम्मेवारीको प्रश्न उठिरहेको छ।
यता, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनमा उनीहरूलाई १०–१० वर्षसम्म सजाय हुन सक्ने गरी कारबाही सिफारिस गरिएको उल्लेख छ। हाल भने अदालतको आदेशपछि अनुसन्धान जारी रहँदै हाजिरी जमानीमा रिहाइको तयारी अघि बढाइएको स्रोतले जनाएको छ।





























प्रतिक्रिया