काठमाडौँ। सरकारले डिजिटल सुशासनलाई बलियो बनाउने उद्देश्यसहित नागरिक एपमार्फत थप सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ। अब लोकसेवा आयोगका परीक्षार्थीले आफ्नो प्रवेशपत्र, निजामती कर्मचारीले व्यक्तिगत विवरण तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन्।
सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार प्रणाली हाल परीक्षण चरणमा रहेको छ र आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आउने तयारी गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र थप सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अगाडि नै सेवा सुरु गर्न निर्देशन दिँदै नागरिक एपलाई थप सेवा एकीकृत गर्न जोड दिएका छन्। यसअनुसार विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास भइरहेको छ। नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ। हाल प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) भने एपबाटै डाउनलोड गर्न सकिने सुविधा सञ्चालनमा आइसकेको छ।
नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ सशक्त हुने अपेक्षा गरिएको छ। यसले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने तथा सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।































प्रतिक्रिया