प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीमा हर्क साम्पाङको आग्रहः महाकालीमा सीमा अतिक्रमण तत्काल बन्द गरियोस्

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीमा हर्क साम्पाङको आग्रहः महाकालीमा सीमा अतिक्रमण तत्काल बन्द गरियोस्

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको पहिलो औपचारिक भ्रमणको तयारीमा रहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले कडा शब्दमा सीमा सुरक्षा र सार्वभौमिकताको मुद्दा उठाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने भ्रमणलाई उपलब्धिमूलक बनाउन साम्पाङले महाकाली क्षेत्रको अतिक्रमण तत्काल रोक्न र लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा नाका खोल्दा नेपालको लिखित स्वीकृति अनिवार्य गर्ने व्यवस्था मिलाउन स्पष्ट आग्रह गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै साम्पाङले लेखेका छन्, “सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू ! तपाईंको भारत भ्रमण निकट भविष्यमै हुने समाचार बाहिरिएको छ । भ्रमण उपलब्धिमूलक रहोस् । महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा–लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् । यति भए पुग्छ अहिलेलाई ।”

यो आग्रह प्रधानमन्त्री शाहको भ्रमणलाई कूटनीतिक रूपमा सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ । नेपाल–भारत सीमा विवादका दुई प्रमुख मुद्दा—महाकाली नदी क्षेत्रको अतिक्रमण र लिम्पियाधुरा–लिपुलेक नाकाको सञ्चालनलाई साम्पाङले भ्रमणको पूर्वसन्ध्यामा औपचारिक रूपमा उठाएका हुन् । विशेषगरी व्यापारिक प्रयोजनका लागि नेपाली भूमि प्रयोग गर्दा नेपालसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था मिलाउनुपर्ने उनको मागले सीमावर्ती क्षेत्रमा भइरहेको एकतर्फी गतिविधिप्रति काठमाडौंको अहिलेसम्मको नरम कूटनीतिक शैलीप्रति समेत प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपालले लामो समयदेखि थाती रहेका सीमा, व्यापार र जलस्रोतका मुद्दाहरूमा ठोस प्रगति हासिल गर्ने अवसरका रूपमा हेरिएको छ । हर्क साम्पाङको यस्तो सशक्त र स्पष्ट आग्रहले भ्रमणको एजेन्डालाई थप तिखार्ने र नेपालको अडानलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Logo