काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दैछन् ।
मुख्यमन्त्रीहरूका समस्या र सुझाव प्रत्यक्ष सुन्ने उद्देश्यले आयोजित यो छलफललाई प्रधानमन्त्री शाहले संघीयतालाई थप बलियो र प्रभावकारी बनाउने दिशामा निर्णायक कदमका रूपमा अघि बढाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जारी गरेको जानकारीअनुसार छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेसका कृष्णप्रसाद साह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह संघीयतालाई साँच्चिकै बलियो बनाएर लैजानुपर्छ भन्ने स्पष्ट अडानमा छन् । त्यसका लागि आवश्यक कानुनी, नीतिगत तथा प्राथमिकताका क्षेत्रमा तत्काल सुधार गर्न प्रधानमन्त्री कार्यालय पूर्ण रूपमा तयार रहेको सचिवालयले जनाएको छ । यही लक्ष्यलाई केन्द्रमा राखेर आजको छलफल आयोजना गरिएको हो ।
यो बैठकले प्रदेश र संघबीचको समन्वयलाई थप प्रभावकारी बनाउने, प्रदेशहरूका व्यावहारिक समस्या समाधान गर्ने र संघीय प्रणालीलाई थप मजबुत तथा जनमुखी बनाउने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया