काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको साङ्गठनिक विस्तार र महाधिवेशनको तयारीलाई प्राथमिकता दिँदै विवादास्पद राजनीतिक मुद्दाहरूमा तत्काल कुनै ठोस निर्णय नगर्ने रणनीति लिएको छ।
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण र शेयर लगानीका विषयलाई लिएर बाहिर प्रश्न उठिरहेका बेला बसेको यस बैठकले उक्त विषयमा औपचारिक निर्णय सुनाउन हतार नगर्ने सङ्केत गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले कुनै पनि गम्भीर विषयमा निर्णयमा पुग्नका लागि निश्चित प्रक्रिया र समय आवश्यक पर्ने बताए ।
उनले कुनै पनि एजेन्डामा प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय गरी चारवटा चरण हुने उल्लेख गर्दै भने, “अहिले यो विषयमा पर्याप्त छलफल बाँकी नै छ, त्यसैले निर्णय सुनाउन हतार गर्नु हुन्न। नेतृत्वसँग यस विषयमा पर्याप्त सुझबुझ र अख्तियारी छ।” उनले पार्टी सभापतिले पनि अहिले नै कुनै अन्तिम मूल्याङ्कनमा पुग्ने समय नभएको बताइसकेको स्मरण गराए ।
बैठकले पार्टीको सचिवालयलाई १६ सदस्यीय बनाउँदै कार्यविभाजनलाई तीव्रता दिएको छ। बैठकमा संघीय सांसदहरूको साङ्गठनिक जिम्मेवारी, प्राविधिक सहयोग, र लेभी सम्बन्धी विषयमा छलफल भएको थियो । यस्तै, जिल्ला अधिवेशनको कार्यविधि, केन्द्रीय आयोगहरू, सल्लाहकार परिषद् र महाधिवेशनका लागि विधान मस्यौदा समिति गठन गर्ने प्रस्तावहरूमा पनि बैठकले गृहकार्य गरेको छ।































प्रतिक्रिया