दुबोजस्तै मौलाउनेछ कम्युनिष्ट आन्दोलन : ज्ञवाली

दुबोजस्तै मौलाउनेछ कम्युनिष्ट आन्दोलन : ज्ञवाली

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। कम्युनिष्ट आन्दोलन कमजोर भयो वा समाप्त हुँदैछ भन्ने टिप्पणीहरू भइरहेका बेला नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आन्दोलन खडेरीमा परेको दुबोजस्तै भन्दै फेरि मौलाउने दाबी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमा धारणा राख्दै उनले कम्युनिष्ट आन्दोलनले इतिहासभर अनेक धक्का, विभाजन र संकट झेले पनि अन्ततः पुनः उठ्दै आएको उल्लेख गरेका छन्।

ज्ञवालीका अनुसार अहिले देखिएको चुनौतीलाई आन्दोलनको अन्त्यका रूपमा होइन, पुनर्जीवनको अवसरका रूपमा बुझ्नुपर्छ। उनले विगतमा पनि कम्युनिष्ट आन्दोलन समाप्त भएको भनेर विभिन्न कोणबाट विश्लेषण र घोषणा गरिए पनि ती सबै भविष्यवाणीहरू गलत सावित भएको उदाहरण दिएका छन्। ‘विचारधाराको मृत्यु’ र ‘इतिहासको अन्त्य’ भन्ने जस्ता दाबीहरू गर्नेहरू नै पछि आफ्ना विश्लेषणप्रति पुनर्विचार गर्न बाध्य भएको उनको टिप्पणी छ।

उनले कम्युनिष्ट आन्दोलनको अस्तित्व कुनै व्यक्तिगत इच्छा वा क्षणिक राजनीतिक परिस्थितिमा निर्भर नभई समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकतासँग जोडिएको बताएका छन्। त्यसैले यसलाई सजिलै समाप्त भएको निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।

ज्ञवालीले वर्तमान अवस्था कम्युनिष्ट आन्दोलनका लागि सहज नभएको स्वीकार गर्दै यसलाई सामान्य रूपमा लिन नहुने स्पष्ट पारेका छन्। उनका अनुसार अहिलेको परिस्थितिले पार्टी र आन्दोलन दुवैलाई गहिरो आत्मसमीक्षा गर्न, संरचनागत पुनर्गठन गर्न र नयाँ राजनीतिक तथा संगठनात्मक ऊर्जा निर्माण गर्न दबाब दिइरहेको छ।

उनले स्थापना दिवसलाई उत्सवभन्दा बढी संकल्पको दिनका रूपमा लिनुपर्ने भन्दै पार्टीलाई पुरानो कमजोरी दोहोरिन नदिन चेतावनीसमेत दिएका छन्। साथै, नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिवेशलाई बुझ्ने क्षमता विकास नगरे आन्दोलन अझै कमजोर हुन सक्ने संकेत पनि गरेका छन्।

उनको निष्कर्ष छ-कम्युनिष्ट आन्दोलन अहिले खडेरीमा परेको जस्तो देखिए पनि यसको जरा गहिरो भएकाले सही आत्मसमीक्षा र पुनर्गठन गर्न सके यो फेरि मौलाउने सम्भावना छ।

Logo