देश फासिवादतर्फ जाँदैछ,एमालेले मात्र जोगाउन सक्छ : महेश बस्नेत

देश फासिवादतर्फ जाँदैछ,एमालेले मात्र जोगाउन सक्छ : महेश बस्नेत

केन्द्रबिन्दु
66
Shares

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले कम्युनिष्ट पार्टी स्थापना दिवसलाई केवल स्मरणको दिन नभई वर्तमान चुनौतीसँग जुध्ने दृढ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसमेत साझा गर्दै अहिलेको राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन्।

बस्नेतका अनुसार हालको सरकार गठनपछि समाजमा असमानता, बेरोजगारी, महँगी र निराशा झन् बढेको देखिएको छ। उनले श्रमिक र विद्यार्थी संगठनहरूलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै सरकार अधिनायकवादी दिशातर्फ उन्मुख भएको आरोपसमेत लगाएका छन्।

उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले पार्टी अध्यक्ष ओलीलाई नै निशाना बनाइएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठेको दाबी गरेका छन्। बस्नेतका अनुसार यस्तो परिस्थितिले देशलाई फासिवादतर्फ लैजाने खतरा बढाएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकता छ।

उनले राजनीतिको केन्द्रमा सत्ता होइन, जनताको सेवा हुनुपर्नेमा जोड दिँदै विभाजन होइन, एकता र जनविश्वास पुनःनिर्माण अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्। उनका अनुसार नारा होइन, व्यवहारमा परिवर्तन ल्याउन सके मात्र राजनीतिक सुधार सम्भव हुन्छ। “देश फासिवादतर्फ जाँदैछ, अब एमालेले मात्र जोगाउन सक्छ” बस्नेतले भनेका छन् ।

बस्नेतले समानता, न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त, संगठित र जुझारु ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

Logo