काठमाडौं । आज (सोमबार) देखि देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार १४ सय २१ परीक्षा केन्द्रमा ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट ३६ जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । तर, यस वर्षको परीक्षामा गत वर्षको तुलनामा ९२ हजार ७२५ जना विद्यार्थीको गिरावट भएको छ । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी रहेकोमा यस वर्ष यो संख्या ४ लाख १८ हजार ८ सयमा मात्र सीमित भएको छ ।
बोर्डको आधिकारिक भनाइअनुसार, पुरानो पाठ्यक्रम (२०७९ सालअघिका) का विद्यार्थीलाई परीक्षा दिन ३ वर्षको म्याद दिइएको थियो । उक्त म्याद सकिएकाले तिनको संख्या यस वर्ष ‘शून्य’ भएको छ, जो गत वर्षसम्म आंशिक परीक्षार्थीका रूपमा गणना हुन्थे । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यसलाई मुख्य तात्कालिक कारण मानेपनि दीर्घकालीन संकट योभन्दा कैयौं गुणा गहिरो छ । पहाडी तथा हिमाली जिल्लाहरूमा जन्मदर घट्नु र युवा पुस्ताको वैदेशिक पलायन (बसाइँसराइ) नै उच्च शिक्षामा विद्यार्थी घट्नुको मुख्य जरा हो । कक्षा १० मा नै विद्यार्थी संख्या वार्षिक रूपमा घटिरहेको तथ्याङ्कले यसलाई पुष्टि गरेको छ ।
यसैबीच, गत वर्षको कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हो। बोर्डले यसैलाई आधार बनाउँदै ‘ग्रेडवृद्धि परीक्षामा विद्यार्थी संख्या घटेको’ दाबी गरेको छ । आर्थिक सर्वेक्षण २०८१÷८२ अनुसार, कक्षा १२ सम्म आइपुग्दा ५९.४ प्रतिशत विद्यार्थी पहिले नै ‘ड्रपआउट’ भइसकेका छन्।
कक्षा १२ मा विद्यार्थी संख्या ९३ हजारले घट्नु केवल पुरानो पाठ्यक्रमको म्याद सकिएको प्राविधिक कारण मात्र होइन; यो त नेपाली शिक्षामा विद्यार्थी टिकाउ दरको चरम संकट पनि हो। परीक्षाको पद सुध्रिएको देखिनुभन्दा पनि, तिनै अनुत्तीर्ण विद्यार्थीहरू पुनः कक्षाकोठामा फर्कने वातावरण बनाउनु र नयाँ पुस्तालाई स्वदेशमै भविष्य देखाउनु आजको मुख्य चुनौती हो।





















