काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली राजनीतिमा उम्मेदवार चयन प्रक्रिया सबैभन्दा बढी विकृत बनेको निष्कर्ष निकाल्दै अब पैसा र बाहुबली (मनी र मसल) को प्रभावलाई पूर्ण रूपमा निषेध गर्ने जनाएको छ।
आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा तयार गरेको रास्वापाले अन्तिम समयमा आएर उम्मेदवार घोषणा गर्ने, गुटगत प्रभावमा पर्ने र चाकडीका भरमा टिकट बाँड्ने प्रवृत्तिको अन्त्य गर्न पार्टीले विधि, पद्धति र प्रमाणमा आधारित मार्ग अवलम्बन गर्ने बताएको छ ।
तय गरेको छ।
पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा’ मा नेताको घरदैलो चाहार्ने र शक्तिकेन्द्रलाई रिझाउनेलाई नभई जनताको मन जित्ने र स्थानीय रूपान्तरणको स्पष्ट खाका भएका व्यक्तिलाई मात्र चुनावमा उठाउने स्पष्ट पारिएको छ।
परम्परागत राजनीतिक दलहरूले अभ्यास गर्दै आएको बन्द कोठाभित्रको निर्णय, नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै पूर्ण रूपमा लोकतान्त्रिक र पारदर्शी विधिबाट उम्मेदवार छान्ने नीति रास्वपाले अघि सारेको हो।
उम्मेदवार छनोटको यो नयाँ विधि रास्वपाको विधानको भाग १९ मा रहेको ‘लिडरशिप एकेडेमी र उम्मेदवार क्लब’ तथा भाग २० मा रहेको ‘प्रारम्भिक निर्वाचन र निर्वाचित जनप्रतिनिधि’ को मर्ममा आधारित छ। यसले सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा बुझ्न सक्ने, स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिसँग जोड्न सक्ने र सक्षम नेतृत्वको पहिचान गर्ने लक्ष्य राखेको छ।
समावेशितालाई केवल बाध्यात्मक उपस्थिति वा सजावटका रूपमा नभई लोकतान्त्रिक न्यायको आधारका रूपमा लिने दस्तावेजमा उल्लेख छ। महिला, दलित, सीमान्तकृत समुदाय, युवा, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्र, श्रमिक, किसान, उद्यमीदेखि प्रवासको अनुभव सँगालेका नागरिकलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने पार्टीको लक्ष्य छ।
२०८२ फागुन २१ गते प्राप्त ऐतिहासिक जनादेश (दस्तावेजमा उल्लेखित परिकल्पना) लाई न्याय गर्न स्थानीय तहमा योग्य, सक्षम र इमानदार नेतृत्व हुनैपर्ने पार्टीको निष्कर्ष छ। फरक राजनीति चर्का भाषणमा नभई आन्तरिक सुशासनमा देखिनुपर्ने भन्दै रास्वपाले यो प्रक्रियालाई केवल पूर्णताको घोषणा नभई निरन्तर सुधारतर्फको संस्थागत यात्रा भनेको छ। असल नियतका साथ काम गर्दा हुने त्रुटिलाई स्वीकार्ने, रचनात्मक सुझाव ग्रहण गर्ने र प्रत्येक निर्वाचन चक्रसँगै प्रक्रियालाई थप परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धतासमेत रास्वपाले आफ्नो दस्ताबेजमार्फत व्यक्त गरेको छ।





























प्रतिक्रिया