काठमाडौं । करीब एक हप्ता चलेको एमालेको सचिवालय बैठक केही महत्वपुर्ण निर्णय गर्दै सकिएको छ । यो बैठकमा पार्टी पुनर्गठनको बहस घनिभुत रुपमा चल्यो । पहिलो पटक सचिवालयमा एमाले अध्यक्ष केपी ओली अल्पमतमा परे । ओलीका आफ्नै कोर टिमका सदस्यहरुले प्रश्न उठाए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेर शुरू भएको यो सचिवालय बैठकलाई एमाले पंक्ति र राष्ट्रिय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो । २१ फागुनको निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएपछि पहिलोपटक बैठकले समीक्षा गर्यो ।
नेताहरुको जिम्मेवारी टुङ्ग्याउने भनेर बसेको बैठक पुनर्गठन गर्ने कार्यदल बनाउने र असारमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेर सकियो । उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार, सुझाव कार्यदल गठन, असार दोस्रो साता केन्द्रीय कमिटी बैठक आह्वान, सरकारका केही निर्णयहरूप्रति आपत्ति र पार्टीको संगठनात्मक काम व्यवस्थित गर्नेगरी नेताहरूको जिम्मेवारीबारे निर्णय भएको छ ।
यस्तै कलंकीमा पार्टी कार्यालय भवन बनाइदिने मीनबहादुर गुरुङको प्रस्ताव फिर्ता गर्ने र नेताहरूको कार्यविभाजन संशोधन सहित टुंग्याउने निर्णय पनि भएको छ ।
एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीको असहमती भए पनि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल बनाउन बाध्य भए । यो ओली अध्यक्ष भएपछिको पहिलो घट्ना हो । एमाले नेतृत्वमा आएपछि पहिलोपटक पदाधिकारीहरूबीच अल्पमतमा परेका ओलीले बैठकको पहिलो दिनबाटै नेतृत्व नछोड्ने अडान लिएका थिए ।
‘यसरी हुँदैन, परिवर्तन हुनुपर्छ भनेर पदाधिकारीहरूले बोल्दा केपी ओलीले सक्नु हुन्न, समय खर्च नगर्नुस् भनिरहनुभयो,’ एक पदाधिकारी भन्छन्, ‘तर यसपटक उहाँको आग्रहले काम गरेन ।’
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले दोस्रो दिन नै ओलीको चेतावनीलाई चुनौती दिएका थिए । अरू पदाधिकारीले गुरुङले जसरी नभनेपनि पार्टी पुनर्गठनबारे आफ्नो मत राखे ।
खगराज अधिकारीले नेतृत्व असफल भएको निष्कर्ष बिम्वमै राखेका थिए ।‘तपाईंकै नेतृत्वमा एमाले सगरमाथाको उचाइमा पुग्यो । अहिले कचनाकबल झरेको छ,’ अधिकारीले भनेका थिए । शेरधन राईले पुनर्गठन कार्यदलको आवश्यकताबारे व्याख्या नै गरेका थिए ।
बैठक स्रोतका अनुसार, जवाफ दिने क्रममा भने आज ओली नरम सुनिएका थिए । ‘अन्तिम दिन भने अचम्मगरी नरम बोल्नुभयो,’ स्रोत भन्छ, ‘युनिटी युनिटी, फेरि युनिटी भनिरहनुभयो । कारबाहीको भाषा बोल्नु भएन ।’
यद्यपि पार्टी पुनर्गठन कार्यदलको प्रस्तावप्रति भने असहमति राखेका थिए । एक नेताका अनुसार यही विषयमा धेरै समय खर्च भयो । ‘नेतृत्वसहित जहाँ जसको कमजोरी हो, त्यो अध्ययनको विषय बनाउनुपर्छ भनेर मत राख्नेहरू धेरै जना भइयो,’ बैठकमा सहभागी ती नेता भन्छन् ।
कार्यदलमा ओलीलाई साथ दिने नेताहरू अल्पमतमा छन् । संयोजक थापा र सचिव महेश बस्नेत बाहेक ओलीलाई साथ दिन सक्ने सम्भावना भएका नेता उपमहासचिव लेखराज भट्ट मात्र हुन् । बाँकी उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल सहित सदस्यहरू नेतृत्व पुनर्गठनको पक्षमा खुलेका छन् ।





























प्रतिक्रिया