मोदीसँगको भेटपछि रविले के भने ?

मोदीसँगको भेटपछि रविले के भने ?

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । भारतीय प्रधानमन्त्री मोदीसँगको करिब एक घण्टा लामो भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटपछि आफ्नो प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री मोदीसँगको कुराकानी निकै फलदायी भएको र नेपाल–भारत सम्बन्धलाई विगतका सीमा र संकुचनभन्दा माथि उठाएर नयाँ युगको ‘विकास कूटनीति’ तर्फ लैजाने विषयमा आफू सहमत रहेको बताएका छन्। उनले दुई देशबीचको साझा सभ्यताको सम्बन्धलाई थप बलियो बनाउँदै डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीसँगको एक घण्टा लामो उपलब्धिमूलक संवाद वास्तवमै सुखद रह्यो। नेपाल र भारतले पुराना अड्चनहरूलाई त्यागेर विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्छ भन्ने उहाँको सोचसँग म पूर्ण सहमत छु।”

उनले नेपाल र भारतबीचको साझेदारीलाई प्रगति र आपसी विश्वासको जगमा उभ्याउनुपर्ने धारणा राखे। विशेषगरी दुई देशलाई प्रविधि र भौतिक पूर्वाधारमार्फत जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने उनको विश्वास छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अबका दिनमा यी सम्भावनाहरूलाई यथार्थमा बदल्न सक्रिय भूमिका खेल्ने लामिछानेले स्पष्ट पारेका छन्। “नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनालाई व्यवहारमा उतार्न रास्वपा तत्पर छ,” उनले उल्लेख गरे।

Skip This
Skip This
Logo