भक्तपुर, १२ मंसिर ।
यही मंसिर २१ गते हुने निर्वाचनमा एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा ओर्लिएका छन् ।
नेपाल मजदुर किसान पार्टीमा बसेर ५० वर्षभन्दा बढी समय राजनीति गरेका नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईका जेठा छोरा सरोजराज गोसाईले क्षेत्र नं १ प्रदेश (ख) बाट र माहिला सुरेन्द्रराज गोसाईले क्षेत्र नं २ प्रदेश नं (क) बाट उम्मेदवारी दिएका हुन् ।
सरोजराज भक्तपुरबाट प्रकाशित मजदुर दैनिकका कार्यकारी सम्पादक, वासु उमावि व्यवस्थापन समितिका अध्यक्ष एवं ख्वप कलेजका प्राध्यापक थिए भने सुरेन्द्रराज अनलाइन मजदुरका सम्पादक एवं बाल विकास इंग्लिस स्कुलका प्राध्यानाध्यापक थिए ।
विसं २०३० मा जन्मेका सरोज र २०३६ सालमा जन्मेका सुरेन्द्रले २०४६ सालको पञ्चायती शासनविरुद्धको आन्दोलनमा विद्यार्थी क्षेत्रबाट सक्रिय रहँदै राजनीतिमा आएका हुन् ।
नेमकिपाका विभिन्न भ्रातृ संगठनमा रहेर काम गर्दै केन्द्रीय सदस्य भएका उनीहरूलाई पार्टीले टिकट दिएपछि शैक्षिक र लामो समयको पत्रकारिता पेशालाई थाती राखेर चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका संस्थापक सदस्यसमेत रहेका सरोजराज भक्तपुर क्षेत्र नं २ (ख) सूर्यविनायक प्रदेशबाट प्रदेशसभा सदस्यको उम्मेदवारी पछि घरदैलो कार्यक्रममा व्यस्त छन् ।
उनी भन्छन्, “हामी दाजुभाइ सानै हुँदा घरमा गोप्य रुपमा पञ्चायतविरुद्ध मोर्चाबन्दी बनेकाले राजनीतितर्फ आकर्षित भइयो । पत्रकारितालाई पनि निरन्तरता दिँदै आइयो, अहिले पार्टीले जिम्मेवारी सुम्पेको छ, त्यो जिम्मेवारी वहन गर्न जनताको साथ र सहयोग माग्दै हिँडेको छु ।”
उनी उम्मेदवार भएको क्षेत्रमा प्रदेशसभातर्फ नेकपा (एमाले) का शशीजंग थापा, नेपाली काँग्रेसका अंगद खड्कासँग कडा प्रतिस्पर्धा हुने भएको छ । सबैले आआफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा गोसाई पनि समाजवाद स्थापना र गरिबी उन्मूलनको लक्ष्य लिएर मतदातासँग भोट मागिरहेको बताउँछन् ।
प्राध्यापनका साथै नेमकिपाको विभिन्न संगठनको नेतृत्व गर्दै हाल एक विद्यालयको प्राध्यानाध्यापक र अनलाइन मजदुरको सम्पादक भएर कार्य गरिरहेका सुरेन्द्रराज पनि क्षेत्र नं १ (ख) भक्तपुर प्रदेशको चुनावी प्रतिस्पर्धामा छन् ।
नेमकिपाको पकड रहेको र हालसम्म एकलौटी रुपमा नेमकिपाले विजय हासिल गर्दै आएको यो क्षेत्रमा उनीसँग प्रतिस्पर्धाका लागि वाम गठबन्धनबाट रोमन शिलाकार र नेपाली काँग्रेसबाट अनिल भुजु पनि चुनावी मैदानमा छन् ।
यो प्रदेशमा नेमकिपाको किल्ला भत्काउन सबै दललाई मुस्किल पर्ने देखिएसँगै गोसाईको जित सुनिश्चित रहेको चर्चा चल्दै गर्दा उनले भने यस प्रदेशको विकासका लागि आफू प्रतिबद्ध भएर लागिरहने बताउँछन् । रासस































प्रतिक्रिया