काठमाडौं । गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित घटनाको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सभामुखसमक्ष बुझाएको छ ।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले उक्त दिन ‘संसदीय मर्यादाको गम्भीर उल्लंघन’ भएको ठहर गर्दै दोषी सांसदहरूमाथि कारबाही गर्न सभामुखलाई सिफारिस गरेको हो।
स्थलगत मुचुल्का, सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारिएको प्रतिवेदन अनुसार विपक्षी दलका सांसदहरूले सभामुखलाई हलमा प्रवेश गर्न रोक्ने प्रयास गरेका थिए। विरोधका क्रममा सांसदहरू टेबुलमाथि चढ्ने, माइक तान्ने, मर्यादापालकको टोपी फुकाल्ने र हलका भौतिक संरचना (टेबुलको बार, बत्तीको तार, नेमप्लेट र ढोकाको छेस्किनी) तोडफोड गर्ने कार्यमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ।
विशेषगरी सांसदहरू रिंगला यादव, विष्णुबहादुर खड्का, सन्तोष सुब्बा र निता घतानी तोडफोड तथा अमर्यादित गतिविधिमा संलग्न देखिएको र ठेलमठेलका क्रममा केही मर्यादापालक समेत घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
समितिले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ३३ बमोजिमको विशेषाधिकार प्रयोग गरी दोषी सांसदहरूलाई तत्काल निष्कासन गर्न, बढीमा १५ दिनसम्म निलम्बन गर्न र भौतिक क्षतिको क्षतिपूर्ति सम्बन्धित सांसदबाटै भराउन सभामुखलाई सुझाव दिएको छ। साथै, यस्ता घटना दोहोरिन नदिन दलीय नेतृत्व र सचेतकहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने र सांसदहरूका लागि आचारसंहिता सम्बन्धी सचेतना कार्यक्रम चलाउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ।






























