काठमाडौँ, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता
शनिवार विहान काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–९ का संघका प्रत्यक्षतर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, प्रदेश ‘क’ कै प्रत्यक्ष उम्मेदवार डा. अजयक्रान्ति शाक्य लगायत चुनावी घरदैलो कार्यक्रममा व्यस्त थिए । काठमाडौँ महानगरपालिकाकै वडा नम्बर–२१ का विभिन्न स्थानमा घरदैलो गर्ने क्रममा उनीहरु सुनधारा नजिकैबाट भोटेबहाल ओरालो झर्दै थिए । त्यसैबेला त्यहीका स्थानीय ७२ वर्षीय रत्नबहादुर ढंगोल हँस्याङफस्याङ गर्दै सडकमा निस्किए । केही खादा, हातमा अविर र माला बोकेर निस्किएका ढंगोलले चुनावी घरदैलोमा हिँडेको र्यालीलाई रोकेनन् मात्र, मेयर र दुबै उम्मेदवारलाई पालैपालो खादा, अविर र माला लगाएर कसिलो गरी हात मिलाए अनि भने– ‘मेयरलाई जिताएर पठायौँ । अब जित्ने पालो तपाईँहरुको ।’ दुबै उम्मेदवार मुसुक्क हाँसेपछि फेरि ढंगोलले थपे –‘जितेर गएपछि हामीलाई माया नमार्नु होला नि ? यो खादा, अविर र माला मैले तपाईँहरुलाई त्यसै लगाएको होइन । जितको अग्रिम शुभकामना पनि हो ।’
शनिबार वाम गठबन्धनले काठमाडौँको वडा २१ का लगन, भोटेवहाल, जैसीदेवल, टेकु लगायतका विभिन्न स्थानमा घरदैलो गर्दा वृद्ध–वृद्धा, युवा, व्यापारी, वुद्धिजिवी सबैले स्थायी सरकारको अपेक्षा गरे । वडा नम्बर–२१ काठमाडौँ महानगरका मेयर शाक्यको घर भएको क्षेत्र भएकाले पनि हुनसक्छ । त्यहाँ वाम गठबन्धनका पक्षमा निकै राम्रो माहोल देखियो । सयौँ सहभागी रहेको र्यालीमा घरका छत, झ्याल र पसलहरुबाट पनि हात हल्लाइरहेका दृष्यहरु निकै रोचक देखिन्थे । मेयर शाक्यकै निवास नजिक रहेको जैसी देवल आसपासको क्षेत्रमा सडक पुर्ननिर्माण भैरहेको थियो । त्यहाँ केही मजदुर आफ्नै सुरमा काम गरिरहेका थिए । वाजागाजा र झण्डा सहित र्याली जब ती मजदुरको छेउमा पुग्यो उनीहरु पनि टक्क उभिएर र्याली निहाल्न थाले । त्यसैबेला उम्मेदवारहरु श्रेष्ठ र शाक्य मात्र होइन मेयर शाक्यले पनि ती मजदुरसँग हात मिलाए । मजदुरका समस्या र टोलवासीका समस्यामा आफूहरु केन्द्रित रहने नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।





























प्रतिक्रिया