माइतीघरमा प्रचण्ड–माधव समूहको धर्ना आज दोस्रो दिन पनि निरन्तर

माइतीघरमा प्रचण्ड–माधव समूहको धर्ना आज दोस्रो दिन पनि निरन्तर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार) पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिएको छ ।

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार आज दोस्रो दिन पनि धर्ना दिएको हो । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको प्रचण्ड–माधव समूहले बताएको छ । धर्नामा सहभागी नेताहरुले धर्ना कार्यक्रम सांकेतिक आन्दोलन भएको बताएका छन् ।

सात दशक लगाएर दशौं हजारको वलिदानबाट निर्मित संविधानलाई उल्लङ्घन गर्ने, कू गर्ने काम भएकोले त्यसको विरोधमा धर्ना बसेको सहभागी नेताहरुले बताएका छन् । संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेशीता र धर्म निरपेक्षताको रक्षाको निम्ति आन्दोलन गरेको धर्नामा सहभागीहरुले बताएका छन् ।

धर्नामा सहभागीहरुले ‘संसद विघटन गर्न पाईंदैन, निरंकुशतन्त्र चाहिंदैन’, ‘संविधानको रक्षा गरौं, राष्ट्रियताको रक्षा गरौं’, ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । धर्नामा विघटित प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभा सदस्यहरु, संविधान सभाका सभासदहरु लगायतको उपस्थिती रहेको थियो । धर्ना कार्यक्रम माघ २१ गते सम्म चल्ने बताइएको छ ।

Logo