‘पार्टी एकता कायम राख्न दुई अध्यक्षबीच पुनः एकपटक संवाद हुनुपर्छ’ : नारायणकाजी श्रेष्ठ (भिडियाेसहित)

‘पार्टी एकता कायम राख्न दुई अध्यक्षबीच पुनः एकपटक संवाद हुनुपर्छ’ : नारायणकाजी श्रेष्ठ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नु पर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सोमबार बिहान आफ्नै निवासमा कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी भित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन् । आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरी एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताए ।

नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनु पर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताए । आइतबार साँझको ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेको बताएको प्रवक्ता श्रेष्ठले बताए । विभिन्न सञ्चार माध्यमहरुमा आए जस्तो प्रधानमन्त्री ओलीले अब सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो रहेको पनि स्पष्ट पारे । उनले अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनै पनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको बताए ।

उनले भने, ‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनु भए अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिन तपाईहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस, स्थायी कमिटीबाट निर्णय गर्नुस, सचिवालयको निर्णय गर्नुस तर बहुमतले गरेको निर्णय म मान्दिन । भनेपछि तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दा भन्दै पनि तपाईहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईहरु तयार हुनुहोस । अथवा सल्लाह गरेर अलग अलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनु भएको थियो ।’

प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए । पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उनले बताए। पार्टीभित्र अहिले औपचारिक रुपमा वैचारिक, सैद्धान्तिक, राजनीतिक बहस शुरु भइनसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा जोड दिए । सबैले आ–आफ्नो पक्षबाट आत्मालोचना गर्दै पार्टीको निर्णय मान्ने र कार्यान्वयनमा गए पार्टी एकता बलियो हुने पनि उनले बताए।

Logo