संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक : नेता नेपाल

संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक : नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

चितवन, १० असोज ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताएका हुन् ।

वामपन्थी तालमेलका विषयमा नेकपा (माओवादी केन्द्र) तयार रहे एमाले तयार रहेको उनले बताए । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उनले बताए ।

फरक प्रसंगमा उनले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भए पनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उनले बताए ।

नेता नेपालले भने, “समग्रमा निराशाजनक छैन ।” पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको पनि उनले बताए ।

अर्को प्रश्नमा उनले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए । उनले भने, “जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।”

स्थानीय तहको निर्वाचनको समयमा भएका कमीकमजोरीका कारण खोज्दै एमाले अघि बढ्ने नेता नेपालको भनाइ थियो ।

Logo