लहान, ६ असोज ।
दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।
आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्र का श्रवणकुमार यादव चार हजार ७३६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम यादवले तीन हजार ९३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ ।
यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै जिवछी देवीले चार हजार ९३९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निरसलादेवी साहले तीन हजार १४१ मत प्राप्त गरेका छन् ।
यससँगै माओवादी केन्द्रले हालसम्म सिरहाको चार स्थानीय तहमा जित हासिल गरेको छ ।
यस्तै, सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले जितेको छ ।
प्रमुखमा काँग्रेसका सूर्यनाथ मण्डल चार हजार ८०८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामबाबु यादवले चार हजार ६०६ मत प्राप्त गरेका छनन् ।
उपप्रमुखमा काँग्रेसकै रोहणी कुमारी यादव चार हजार ६६४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै उम्मेदवार मसुदा खातुनले चार हजार ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै काँग्रेसले हालसम्म सिरहाको दुई स्थानीय तह जितेको छ ।
यसैबीच, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
त्यस्तै, नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित रामशरणले एक हजार ६५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अध्यक्ष उम्मेदवार रामसोगारत यादवले एक हजार ४७८ मत प्राप्त गरेका छन् ।
यस्तै, नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित एमालेकै गुलाबदेवीले एक हजार ८५५ मत प्राप्त गरिन् । रासस





























प्रतिक्रिया