बागलुङमा १४ हजार नयाँ मतदाता थपिए

बागलुङमा १४ हजार नयाँ मतदाता थपिए

केन्द्रबिन्दु
0
Shares

बागलुङ ।

निर्वाचन आउन तीन महिना बाँकी रहँदा बागलुङ जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा बैठकलार्ई निरन्तरता दिइएको छ ।

निर्वाचन कार्यालय बागलुङका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरणमा उल्लेख भएका १८ वर्ष पुगेका नागरिकले मात्र मतदान गर्न पाउने भएका छन् । पुस ५ गतेसम्मको तथ्याङ्कअनुसार बागलुङमा एक लाख ८८ हजार १०८ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन अधिकारी शिवराम शर्माले जानकारी दिए । “हामीले निर्वाचनको मिति तोकेसँगै आन्तरिक तयारीलाई तीव्रता दिएका छौं”, उनले भने, “सुरक्षा निकाय तथा सरोकारवालासँगको छलफल, मदतानस्थल र केन्द्रको अद्यावधिकलगायत विषयमा निर्वाचन आयोगमा पठाइसकेका छौं ।”

यसअघि बागलुङमा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख ६८ हजार ३४९ मतदाता थिए । २०७६ मङ्सिर १४ गते बागलुङमा भएको प्रदेश तथा वडाध्यक्षको उपनिर्वाचनमा पुनः पाँच हजार ४६१ मतदाता थपिएर जम्मा एक लाख ७३ हजार ८१० मतदाता थिए । निर्वाचनको तयारीस्वरुप यही माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ ।

जिल्लाका १० वटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिनसकिने निर्वाचन अधिकारी शर्माले बताए । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारीसमेत खटाइसकेको छ ।

त्यसैगरी आगामी निर्वाचनमा १०३ मतदानस्थल र २०१ मतदान केन्द्र रहेकोमा आगमी निर्वाचनमा भने २१९ मतदान केन्द्र बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार मतदाता सङ्ख्यामा आएको वृद्धिसँगै १८ मतदान केन्द्र थप्न सिफारिस गरिएको छ ।

चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधैं आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघिदेखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आकलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा दुई निर्वाचन क्षेत्र छ ।

Logo