काठमाडौँ, १० भदौ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।
स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुदैछ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् ।
दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बारेमा केन्द्रीत रहेर छलफल गरेको छ । छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताउनुभयो ।
उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ ।





























प्रतिक्रिया