थप १५ राज्यमन्त्रीलाई सपथ, मन्त्रिपरिषद अब ४९ सदस्यीय

थप १५ राज्यमन्त्रीलाई सपथ, मन्त्रिपरिषद अब ४९ सदस्यीय

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, ६ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । अब मन्त्रिपरिषद ४९ सदस्यीय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई सपथ गराइएको हो ।

गणतन्त्र आएपछिको चौथो प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले पनि ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । बहुदलीय व्यवस्थामा पनि ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेको बेला देउवाले ५२ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

यसरी २३ जना राज्यमन्त्री थपे पनि अझै पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय मन्त्रीविहीन छन् । ती चार वटै मन्त्रालय अहिले प्रधानमन्त्री देउवासँगै छन् र राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

आज नवनियुक्त राज्यमन्त्रीहरूमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाकदी खानेपानी तथा सरसफाइ, तप्तबहादुर विष्ट सूचना तथा सञ्चार, अमरसिंह पुन सिँचाइ, दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला, उदयशम्शेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल चौधरी युवा तथा खेलकुद, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था छन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा जेठ २४ गते गठन भएको मन्त्रिपरिषद मंगलबार (आज) विस्तार भएसँगै ४९ सदस्यीय भएको छ। मन्त्रिपरिषदमा ३ उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन्।

Logo