केन्द्रबिन्दु डेस्क । काठमाडौं, १० साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको भए पनि नेपाली कांग्रेसकै रामचन्द्र पौडेल पक्षले मन्त्री टुङ्गो लगाउन समय लगाएपछि बुधबार मात्र विस्तार हुने भएको छ । स्रोतअनुसार, कांग्रेसको भागमा पर्ने १३ मन्त्रालय मध्ये पाँचमा पौडेल पक्षको दाबी छ। कांग्रेस र माओवादी गठबन्धनबीच भने मन्त्रालय भागवण्डा टुङ्गो लागिसकेकोछ ।
बिहान कांग्रेस नेता विमलेन्द्र निधिले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। मन्त्रिपरिषदमा राप्रपा र संघीय समाजवादी फोरम नेपाललाई भने तत्काल सहभागी नगराउने रणनीति कांग्रेस र माओवादीले लिएको स्रोत बताउँदछ । यस सन्दर्भमा पछि सरकारमा सहभागी हुने दलहरुका लागि केही मन्यालय (उद्योग, वन, विज्ञान तथा प्रविधि र शान्ति मन्त्रालय) रिजर्भमा राखिने भएको छ।
नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालयको सम्हालिरहेको छ । अब उसले थप भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद, कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालय पाउनेछ। कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक–एक मन्त्री बन्नेछन् ।
स्रोतअनुसार, देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी र सरिता प्रसाईको नाम लगभग पक्का भएको छ । कमला पन्तको पनि सम्भावना रहेको बताइँदै छ । त्यसैगरी सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको बताइएको छ ।
सत्ता साझेदार नेकपा माओवादीले ९ मन्त्रालय पाउने भएको छ । हाल माओवादी केन्द्रले परराष्ट्र, गृह र सहरी विकास मन्त्रालय पाएको छ। अब थप उसले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, पशुपंक्षी, आपूर्ती र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरिरहेको विजय गच्छदारको फोरम लोकतान्त्रिकले पर्यटन र भूमीसुधार मन्त्रालय पाउने छ।
नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ। यो दलले मिथिला चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ।





























प्रतिक्रिया