केन्द्रबिन्दु संवाददाता । ८ साउन, काठमाडौं ।
सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कार्वाहीप्रति असन्तुुष्टि जनाएका छन ।
सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरा ल्याउन नसकेको आरोप पनि लगाएका छन । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा राजनीतिक तहको भ्रष्टाचार नसमेटिएको दावी गर्दै आपत्ति जनाउनु भयो । उहाँले आयोगको काम, कार्वाही पूर्वाग्रही भएको दावी पनि गर्नु भयो ।
सांसद जोशीले मुलुकमा नीतिगत भ्रष्टाचार चुलिँदै जाँदा समेत त्यसलाई समेटने प्रयास अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न नसकेको आरोप पनि लगाउनु भयो । उहाँले अख्तियारले कतिपय अवस्थामा भ्रष्टाचार जस्तो मुद्दालाई सतहीरुपमा लिने गरेको पनि स्पष्ट पार्नु भयो ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद नगेन्द्रकुमार कुमालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको कामलाई सतर्कतापूर्वक अघि बढाउन नसकेको आरोप लगाउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारलाई साथमा लिएर संसद र संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद नरसिंह चौधरीले राजनीतिक तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो नदिएको आरोप लगाउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने हो भने सांसदहरुले आफूले आफैंलाई सुशासनको दायरामा ल्याउनुपर्ने स्पष्ट पार्नु भयो । सांसद चौधरीले विकास निर्माणको काममा हुने भ्रष्टाचार नियन्त्रणका लागि सांसदहरु आफै लाग्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफदेही बनाउन आवश्यक रणनीति तय गर्न त्यसको वार्षिक प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकमा समितिका अन्य सदस्यहरुले पनि अख्तियारलाई जवाफदेही बनाउन संसदले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बेला आएको धारणा राखेका थिए ।





























प्रतिक्रिया