केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ असार ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय तत्काल खारेज गर्नुपर्ने मागसहितको १३ बुदे ज्ञापन पत्र बुझाएको हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गैरकानुनी ढंगबाट गलत नियतका साथ राष्ट्रिय स्वाभिमान विपरित बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेकाले तत्काल खारेज गर्नुपर्ने मागसहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउनु परेको पार्टीका संयोजक डा. भट्टराईले स्पष्ट पार्नु भयो । उहाँले स्वदेशी पुँजीमै आयोजना निर्माण गर्न सकिने उल्लेख गर्दै निर्माण प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो ।
नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गराउने तत्कालीन प्रधानमन्त्री दाहाल र उर्जामन्त्री जनार्दन शर्मालाई पनि कार्वाही गर्नुपर्ने माग गरेको छ । कानुन विपरित, गलत नियतका साथ राष्ट्रिय गौरवको आयोजना निर्माणको काम विदेशी कम्पनीलाई दिने निर्णय गरेकाले तत्कालीन सरकारको नेतृत्व र विभागीय मन्त्रीलाई कार्वाही गर्न पनि प्रधानमन्त्री देउवासँग माग गरिएको संंयोजक भट्टराईले स्पष्ट पार्नु भयो । दाहाल नेतृत्वको सरकारले गत जेठ १० गते १२ सय मेघावाट क्षेमताको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो ।
भट्टराई नेतृत्वकै सरकारले यो आयोजना स्वदेशी पूँजीमै निर्माण गर्नेगरी विस्तृत अध्ययणको काम अघि बढाएको थियो । गेजुवा कम्पनीले ६० मेघावाटको त्रिशुली ए को कार्य समयमा सम्पन्न नगर्ने जस्ता गैरकानुनी काम गरेको पनि पार्टीले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नयाँ शक्ति पार्टी, नेपालले यो आयोजना कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष, मुलुक भित्रकै विभिन्न बैंकहरु र सर्वसाधारण नागरिकको सेयरमा बनाउन सकिने प्रस्ताव पनि अघि सारेको छ ।





























प्रतिक्रिया