‘देशको पछिल्लो अवस्थाबारे छिट्टै श्वेतपत्र सार्वजनिक हुन्छ’ : अध्यक्ष दाहाल

‘देशको पछिल्लो अवस्थाबारे छिट्टै श्वेतपत्र सार्वजनिक हुन्छ’ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन् ।  

मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले उत्पन्न भएको हो ? र, यसले पारेको प्रभाव लगायत विषय समेटिएको श्वेतपत्र जारी गर्न लागिएको बताए ।  

उनले सशस्त्र सङ्घर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, समृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको उल्लेख गरे । अध्यक्ष दाहालले भने “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।” उनले नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताए। उनले यतिबेला सत्य र असत्य, लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको स्पष्ट पारे।  

उनले सङ्घीय संसदमा भएका दुईतिहाइ बढीले संसद् विघटन असंवैधानिक भनेर सङ्घर्षमा रहेको जिकिर गरे। अध्यक्ष दाहालले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने पनि बताए । “अहिले हामी संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । हामी नागरिक आन्दोलनसँगै छौँ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ”, अध्यक्ष दाहालले भने “लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तै उस्तै भनेर बुझ्नु हुँदैन । संयुक्त जनपरिचालनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतसँग छलफल भइरहेको उनको भनाइ छ ।  

कार्यक्रममा सो समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए ।  प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसर भएको उल्लेख गरे। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नरहेको उल्लेख गर्दै उनले संविधानले नै नदिएको अधिकार कोही कसैले पनि प्रयोग गर्न नहुने बताए।  

Logo