सुशील कोइरालाको छैटौं स्मृति दिवस : के छ उनको राजनीतिक योगदान ?

सुशील कोइरालाको छैटौं स्मृति दिवस : के छ उनको राजनीतिक योगदान ?


नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको आज छैटौं स्मृति दिवस हो । कोइरालाको विसं.०७२ माघ २६ काठमाडौको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो । केही दिनबाट सामान्य ज्वरोका कारण अस्वस्थ भएका उनको  निमोनियाका कारण आकस्मिक निधन भएको बताइएको थियो ।

सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री थिए । कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि.सं.२०७० माघ २७ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । सुशीलको जन्म सन् १९३९ मा भएको थियो । उनका ६ भाइ र एक बहिनी थिए । वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

उनी विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विसं २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन् । विसं. २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए । उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए । विसं. २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल ०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र वि. सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलन मा सक्रियरूपमा लागेका थिए ।

बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशीलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनोकास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए ।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए । पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे । त्यतिबेलासम्म सरकारी लाभको पदमा नरहेका सुशील सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन् ।

उनले स्वदेश र प्रवासमा नेपाली काँग्रेसका नेता बीपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् । उनले विसं २०४६ सालपछि पार्टीको परराष्ट्र सम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए । पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए । सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए । कोइरालाले सन् २००१ मा संसदीय दलको नेतामा भने शेरबहादुर देउवासँग हारेका थिए ।

कोइराला सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए । सुशीलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो । उनका निकट प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै ल्याए । पाँच दशक राजनीतिमा बिताएका कोइरालाले विसं. २०४६ सालपछि कांग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए ।

०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटकपटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवासमा बिताएका थिए । ०७२ सालको नेपालको संविधान उनकै नेतृत्वको सरकारको समयमा जारी भएको थियो ।

Logo