नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आव्हान गरे। पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरित कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिंडेकाले आफूहरु त्यस विरुद्धको संघर्षमा उत्रेको उनले स्पष्ट पारे। उनले संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको तर्क गरे ।
अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिंदै ‘ओली बा समूह’ खोल्न सुझाव दिए । प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गरे ।
उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै आफूहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको स्पष्ट पारे । उनले अहिलेको संघर्षलाई ओली र आफूहरुबीचको निजी लडाईको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाईको रुपमा बुझ्न आग्रह गरे ।
लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफूहरुले जित्नै पर्ने भन्दै उनले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गरे । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरि प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उनले आग्रह गरे ।





























प्रतिक्रिया