सयौं समर्थकहरुका बीच अन्ततः रामकुमारी झाँक्री पक्राउ

सयौं समर्थकहरुका बीच अन्ततः रामकुमारी झाँक्री पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई प्रहरीले राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएको छ ।

नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउको विरोधमा उनका समर्थकहरुले उनको निवास शंखमुलमा विरोध गरेका थिए । उनलाई पक्राउ गर्न नहुने भन्दै समर्थकहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका भएपनि अन्ततः झाँक्री पक्राउ परेकी हुन् ।  

प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीमाथि अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको थियो तर उनी उपस्थित नभएपछि आज सादा पोशाकका प्रहरी उनको घरमा पुगेका थिए।  

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको र सामाजिक संजालमा लेखेको आधारमा उनीमाथि अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ । उनले राष्ट्रपतिलाई गाली गरेको आरोप लगाइएको छ । बुधबारको विरोधसभामा पनि झाँक्रीले बोल्न पाइन्छ भन्दै सांकेतिक विरोध गरेकी थिइन् ।

केही दिन अघि प्रधानमन्त्री केपी ओली समुह निकट महिला नेतृहरूले झाँक्रीलाई पक्राउ गर्न गृह मन्त्रालयमा निवेदन दिएका थिए । गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृ झाँक्रीमाथि अनुसन्धान गर्न लागेको हो । दोस्रो जनआन्दोलनपछि भाषण गरेकै आधारमा नेतामाथि प्रहरीले अनुसन्धान गरेको यो पहिलो घटना हो ।

Logo