‘एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कसको सिफारिस चाहिन्छ ?’
‘एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कसको सिफारिस चाहिन्छ ?’
केन्द्रबिन्दु
३० माघ २०७७, शुक्रबार
0
Shares
बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दै काठमाडौंमा महिला मार्च निकालेको छ ।
बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनु पर्ने, पीडितहरुले न्याय पाउनु पर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु नहुने लगायत नारा लगाइएको थियो ।
मार्चमा “बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर , एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कसको सिफारिस चाहिन्छ ? घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ, नेपालमा कम छ, मौलिक हक हुँदैछ हनन् , हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौति दिन्छौँ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो ।
महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो । बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शव बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहसंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शव यात्रा गरिएको आयोजकले जनाएका छन् ।
त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च पनि गरिएको थियो । मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायतबारे प्रतिकात्मक नाटक प्रदर्शन गरेका थिए । महिलामार्चपछि आयोजित सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।
प्रतिक्रिया