नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम हुन नसकेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको प्रशंशा एकतर्फी रुपमा गर्दै हिड्नुले उनको असफलता प्रकट भएको नेता पौडेलको भनाइ छ ।
प्रधानमन्त्री ओली आत्मरति गर्दै हिंडेपनि तथ्य तथ्यांकहरुले भ्रष्टाचार र अनियमितता निकै मौलाएर गएको उनले बताए । सरकारले निर्वाचनको बेलामा घोषणा गरेको जेष्ठ नागरिकलाई पाँचहजार भत्ताको विषय नीति कार्यक्रम र बजेटमा हाल्न नसकेको उनको भनाइ छ । सरकारको आत्मरति र आत्मप्रशंशा बाहेक केही नभएको भन्दै उनले सरकारले यो काम राम्रो ग¥यो भन्ने स्थिति नभएको बताए।
नेता पौडेलले बैशाखमा निर्वाचन नहुने दाबी पनि गरे । निर्वाचन गर्नको निम्ति प्रतिनिधिसभा विघटनको कदम चालिएको नभई सरकार टिकाउन र निरंकुश प्रणाली नेपालमा लागु गर्ने उद्धेश्य राखिएको उनको भनाइ छ । राजनीतिक र संवैधानिक संकट मोचनका लागि संयुक्त जनआन्दोलन आवश्यक रहेको उनले बताए।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्णरुपमा असफल भएको बताए । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आइपुगेको उनको भनाइ छ । गैरसंवैधानिक तरिकाबाट राष्ट्र चलाउन खोजिएको उनले बताए । सिंगो कम्युनिष्ट पार्टी नै असफल भएको उनको भनाइ छ । संयुक्त आन्दोलनको निम्ति कम्युनिष्ट पार्टीले विश्वास गुमाएको नेता ढुंगानाले बताए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधिसभा विघटन भएको बताए। ३ वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले केही गर्न नसकेको उनको भनाइ छ । प्रतिनिधिसभा पुनर्स्थापना तथा नयाँ निर्वाचन दुवैले वर्तमान राजनीतिक संकटको निकास नदिने उनले बताए।
प्रतिनिधिसभा विघटन केपी शर्मा ओली र नेकपाको मात्रै असफलता नभई व्यवस्थाकै असफलता भएकाले वर्तमान व्यवस्थाकै पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिए ।





























प्रतिक्रिया