पत्रकारिता क्षेत्रलाई सम्मानित र जवाफदेही बनाउन केन्द्रित छौंः सञ्चारमन्त्री गुरुङ

पत्रकारिता क्षेत्रलाई सम्मानित र जवाफदेही बनाउन केन्द्रित छौंः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् ।  

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको बताए । संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफूले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे ।

उनले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको जिकिर गरे । प्रेस पास नविकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उनले जानकारी दिए । प्रेस पास वर्षैपिच्छे नविकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्यूनतम पाँच वर्ष पुर्याउनको लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडी बढाउने पनि उनको भनाइ छ । त्यसैगरी, पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङले प्रष्ट्याए ।

उनले अनलाइन सञ्चारमाध्यमहरु पौष मशान्तसम्म नविकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी नविकरण गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे । लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए ।

मन्त्री गुरुङले जुन सूचनाको माध्यमबाट हिंसा, अशान्ती, द्धन्द्ध सिर्जना हुन्छन् त्यसको व्यवस्थापनको बारेमा सोच्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउनेतर्फ आफ्नो ध्यान गएको प्रष्ट पारे । सामाजिक सञ्जालहरु पनि कानूनी प्रक्रियामा आउनुपर्ने उनको भनाइ छ । विश्वभर सामाजिक सञ्जाल नियमन गर्नेबारे छलफल चलेको भन्दै उनले नेपालमा पनि सामाजिक सञ्जाल नियमन आवश्यक रहेको उनले बताए । उनले दश करोड रुपैँयाको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने पनि जानकारी दिए । मन्त्री गुरुङले बैशाख १७ र २७ गते निर्वाचन हुने भन्दै निर्वाचनको तयारीमा लाग्न समेत मिडियाहरुलाई आग्रह गरे ।  

Logo