केन्द्रबिन्दु बुलेटिन : प्रधानमन्त्रीद्वारा आफूमाथि लागेको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा पेश (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रधानमन्त्रीद्वारा आफूमाथि लागेको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा पेश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार आफूमाथि लागेको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ लिएर सर्वोच्च अदालतमा पेश भएका छन् । उनी यसरी स्वयं न्यायलयमा पेश हुनुले देशमा कानूनी शासन छ र प्रधानमन्त्रीले कानूनलाई सम्मान गर्छन् भन्ने सन्देश गएको अधिवक्ताहरूले बताएका छन् ।  

यता, प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिंदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको र सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रहरूमा नेपाल अघि भारत र माल्दिभ्स रहेका छन् । यस्तै वेल्जियम पनि शीर्ष स्थानमा यथावत् नै रहेको फिफाले जनाएको छ । यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल चैत १ गतेबाट संचालन गर्नेगरि खेल तालिका सार्वजनिक गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी–नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन आन्दोलित भएको छ । कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरिएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका छन् ।

साताको अन्तिम कारोबार दिन बिहीबार बैंकिङ्ग समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो केहि दिन यता नयाँ रेकर्ड बनाउँदै आएको नेप्से सूचकले विहीबार पनि २५ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको हो। यस दिन नेप्से सूचक २५.२३ अंकले बढेर २ हजार ६ सय ३६.६८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले बढेर ४१८.७८ विन्दुमा पुगेको छ ।

सरकारले भारतसँग खरिद गर्न लागेको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । उक्त खोप नेपाल आएपछि २३ गतेबाट ६० वर्ष माथिकालाई खोप दिएर दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिएका छन् । यता, नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोभिडविरुद्दको खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिएको छ ।

Logo