सरकारले संविधान मिच्दैनः प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैनः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न प्रतिवद्धता जनाएका हुन् । 

सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्ट्राचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत उनले बताए । उनले भने, “अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन, मिच्न दिँदैन, जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन, भ्रष्ट्राचार गर्दैन र गर्न दिँदैन, सुशासन कायम गरेर छोडछ, अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाई दिदीबहिनीहरुलाई आस्वस्त पार्छु ।”

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीको दावी छ । उनले थपे, “लोकतन्त्रलाई बिना व्यवधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउन, लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सकुन्, त्यस अभिप्राय र अस्थिरता लोकतन्त्र भित्रैबाट, प्रणाली भित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र कुबाटोतिर लोकतन्त्रलाई धकेल्ने चेष्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरी नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ ।”

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गरे । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्बत ढंगले देशलाई अगाडी बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, “नयाँ निर्वाचनको तयारीका लागि सबै निकायहरुले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्नुपर्दछ । कुनै पनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलापहरु कहीँबाट पनि हुनुहुँदैन । निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्दछ ।”

उनले सनातिना मतभेदहरुलाई छाडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, स्वार्थहरुमा एकताबद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गरेका छन् । 

Logo