बुलेटिन : सरकार र विप्लवसमूहबीच वार्ता हुने, दुवै पक्षका आ-आफ्नै वार्ताटोली गठन (भिडियोसहित)

बुलेटिन : सरकार र विप्लवसमूहबीच वार्ता हुने, दुवै पक्षका आ-आफ्नै वार्ताटोली गठन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये हिंसात्मक गतिविधि गर्दै आएको भन्दै सरकारले वि.सं.२०७५ फागुनबाट प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहसँग सरकारले वार्ता गर्ने भएको छ । त्यसका लागि मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । उता चन्द समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पतालले छिट्टै सम्बन्धन पाउने बताएका छन् । मंगलबार उनले काठमाडौं विश्वविद्यालय (केयू) ले बिएण्डसीलाई सम्बन्धन दिन लागेको जानकारी दिएका हुन् । यस्तै प्रतिनिधिसभा पुनर्स्थापनासँगै प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने तथा, संसदमा अविस्वासको प्रस्ताव पास गराएरै भएपनि पदबाट हटाउने प्रसंग चलिरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । उनले आफूलाई सहजै हटाउन नसक्ने दावीसमेत गरेका छन् ।

विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेलको मूल्यवृद्धिसँगै कोटा निर्धारणका विषयमा तनाव बढ्न थालेको छ । गत जनवरीमा आयोजित दुई दिनको मध्यस्थतापछि ओपेकका २३ सदस्य विश्व बजारमा तेलको आपूर्तिलाई केही सहज तुल्याउन सहमत भएका थिए । 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन खारेज नगर्न एक अर्बको प्रलोभन आएको खुलासा गरेका छन् । आफू सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमको बारेमा अध्ययन गर्ने क्रममा जिल्ला वन अधिकृत, क्षेत्रिय निर्देशक, काठ व्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको उनको आरोप छ । यस्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई व्यवस्थित ढंगले सञ्चालन गर्न बुधबारदेखि नै विभिन्न विभिन्न दलका नेताहरुसँग छलफल सुरु गर्ने बताएका छन् । 

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ दोभान बजारमा आगलागीका कारण ४९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । सो आगलागीबाट ७९ परिवार विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीबाट करोडौंको क्षति पुगको छ भने दोभान बजारको जनता विचल्ली भएका छन् । यता, उक्त घटनालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीटमार्फत दुःख व्यक्त गरेकी छिन् । उनले आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएकी छिन् ।

Skip This
Skip This
Logo