प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा भान्सा विषादीरहित बनाउन आग्रह गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए । यस प्रणालीमार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यवसायिक सीप विकासका लागि जिल्ला जिल्लामा तालिम सञ्चालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताए ।
किसानलाई कृषि पेशाबाट विस्थापन नभएर ठूलो स्केलमा उत्पादन गर्नका निम्ती प्रोत्साहन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले किसानलाई सामुहिक खेती प्रणालीमा संलग्न गराएर उत्पादनमा लगाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर अनुदान दिँदा सकभर जिन्सी सामग्री खरिद गरेर दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने बताइन् । किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिए पनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने उनको दाबी छ ।
किसानहरुको सबैखाले सूचना प्राप्त गर्नका निम्ती एकीकृत सूचना प्रणाली निर्माण गरिने भन्दै मन्त्री अर्यालले सबै किसानहरुलाई प्रविधिमा पहुँच पु¥याइने बताइन् । कृषिको औद्योगिकीकरणका निम्ती सरकार लागिरहेको भन्दै उनले हिजोको कृषि र आजको कृषिमा फरक अनुभूती गर्ने गरी अगाडी बढेको स्पष्ट पारिन् ।
सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सबै प्रदेशका सबै पालिकामार्फत सञ्चालन हुनेछ । कृषि पेसा र व्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण संकेत नम्बर अनिवार्य रहेको छ । त्यसका लागि किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आवद्ध हुनुपर्ने हुन्छ । किसान सूचीकरण प्राप्त गर्न तोकिएका संक्षिप्त विवरणहरू भर्नुपर्ने हुन्छ ।































प्रतिक्रिया