बुलेटिन : निर्वाचन आयोगद्वारा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्किएको जानकारी (भिडियोसहित)

बुलेटिन : निर्वाचन आयोगद्वारा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्किएको जानकारी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये ओली–प्रचण्ड पक्षीय नेकपा अवैधानिक भएको भन्दै सर्वोच्चको फैसलासँगै निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग राजनीतिक दलको रुपमा साविककै अवस्थामा रहेको औपचारिक जानकारी दुवै दलका अध्यक्षलाई दिएको छ । मंगलबार आयोगका पदाधिकारीहरुबीच भएको बैठकपछि जारी पत्रमा दुवै पार्टी पुनः एकीकरण हुन चाहे नयाँ नाम र चिन्हसहित १५ दिनभित्र आयोगमा उपस्थित हुनुपर्ने समेत उल्लेख गरिएको छ।

गत आइतबार पनि ओरालो लागेको नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा २१.५८ अंकले गिरावट आएको थियो । गत दुई सातादेखि नै बजार सूचक अस्थिर देखिइरहेका बेला मंगलबार पनि बजार सूचक ओरालो लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । गतवर्ष कोभिड १९ का कारण विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिएकोमा यसवर्षको परीक्षा भने जेठ १३ देखि २४ गतेसम्मका लागि निर्धारण गरिएको बोर्डले जनाएको छ । त्यसैगरी कक्षा १२ को परीक्षा भने जेठ २६ गतेदेखि असार ४ गतेसम्मका लागि निर्धारण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसद, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आवश्यकताका आधारमा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाइने केन्द्रले जनाएको छ। त्यस्तै सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई घाटा नपुगेको समेत केन्द्रको ठहर छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडका समयमा महानगरले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि मानिसहरु बाहिरिने र भित्रने क्रम जारी रहेको र महानगरलाई दोषारोपण गर्ने काम गरेको उनको दुःखेसो छ । उनले व्यवसायिक वातावरणको निर्माणका लागि महानगर सधैं प्रतिवद्ध रहने प्रतिवद्धता समेत जनाए ।

Skip This
Skip This
Logo